व्यापारी श्रमिकहरूकाे माग सम्बाेधन नभए स्वरोजगार श्रमिक संघले आन्दोलन गर्ने

काठमाडाैँ, ९ असाेज । काठमाडौँ महानगरपालिकाले व्यापारी श्रमिकहरूकाे माग सम्बाेधन नगरे नेपाल स्वरोजगार व्यापार श्रमिक संघले आन्दोलन गर्ने जनाएकाे छ ।

आइतबार रिपाेर्टस क्लबमा भएकाे पत्रकार सम्मेलनमा संघले एक महिनाभित्र महानगरले माग पूरा नगरे चरणबद्ध आन्दोलन गर्ने जनाएकाे हो।

महानगरले वार्ता र सम्वादमार्फत् समस्या समाधान गर्नुपर्ने र चाडवाडलक्षित गरेर निश्चित् स्थान र समय निर्धारण गरी व्यवसाय गर्ने वातावरण तयार गर्नुपर्ने संघकाे माग रहेकाे छ ।

यसैगरी, चाडवाडलक्षित गरेर अल्पकालीन रूपमा बिहान र बेलुकीको निश्चित् समय निर्धारण गरी यथास्थानमा व्यवसाय गर्न प्रबन्ध मिलाउन, जफत गरिएका सामानहरू फिर्ता गर्न पनि संघले महानगरलाई आग्रह गरेको छ।

सम्मेलनमा बोल्दै संघका अध्यक्ष माया गुरुङले आफूले नेतृत्व गरेको संगठनमा १८ हजार श्रमिकहरू सदस्य रहेको बताइन्।

संघका अनुसार सडकपेटी, गल्ली, बजार, अस्थायी टहरामा श्रम गरेर जीवन चलाउनेहरुको संख्या उपत्यकामा करिब ५० हजार र उनीहरूको आश्रित परिवारसमेत गरी करिब २ लाख रहेका छन।