प्रत्येक १० मिनेटमा एक महिला तथा बालिकाको हत्या
महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस
काठमाडौँ, मङ्सिर ९ । आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ। महिला तथा बालिकामाथि हुने हिंसा मानव अधिकारको गम्भीर उल्लङ्घनका रूपमा रहेको भन्दै यसको अन्त्यका लागि कानुनी व्यवस्था, न्यायमा पहुँच र जनचेतना अभिवृद्धिमा जोड दिइएको छ ।
यस वर्ष सार्वजनिक गरिएको एक प्रतिवेदनले विश्वभर प्रत्येक १० मिनेटमा एक महिला वा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या हुने गरेको तथ्य उजागर गरेको छ। संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय र संयुक्त राष्ट्रसङ्घीय महिला निकायले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर करिब ५० हजार महिला तथा बालिकाको घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या भएको थियो। यो सङ्ख्या दैनिक औसत १३७ हो।
प्रतिवेदनले महिला तथा बालिकामाथि हुने हिंसाको सबैभन्दा चरम स्वरूप हत्या भएको उल्लेख गर्दै यस्ता घटना प्रायः लामो समयदेखिको दुर्व्यवहार, धम्की, नियन्त्रण र असमान शक्ति सम्बन्धसँग जोडिने गरेको औँल्याएको छ। महिला तथा बालिकामाथिको हिंसा अन्त्यका लागि प्रभावकारी कानुनी व्यवस्था, पीडितको संरक्षण र दोषीलाई जवाफदेही बनाउने प्रणाली आवश्यक रहेको प्रतिवेदनको निष्कर्ष छ।
महिला अधिकार संरक्षण र हिंसा न्यूनीकरणका लागि अन्तरराष्ट्रिय समुदायले लामो समयदेखि विभिन्न कानुनी तथा नीतिगत प्रयास गर्दै आएको छ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९७९ मा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि पारित गरेको थियो भने सन् १९९३ मा महिलाविरुद्ध हुने हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र जारी गरेको थियो।
महिला अधिकारकर्मीले सन् १९८१ देखि नोभेम्बर २५ लाई लैङ्गिक हिंसाविरुद्धको दिवसका रूपमा मनाउन थालेका हुन्। सन् १९६० नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका तत्कालीन शासक राफेल त्रुजिलोको आदेशमा राजनीतिक गतिविधिमा संलग्न मिराबल दिदीबहिनीको हत्या गरिएको घटनाको स्मरणमा यो दिन छनोट गरिएको थियो। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९९ डिसेम्बर १७ मा प्रस्ताव पारित गरी नोभेम्बर २५ लाई महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवसका रूपमा औपचारिक मान्यता दिएको थियो ।
यस दिवससँगै आजदेखि डिसेम्बर १० अर्थात् मानव अधिकार दिवससम्म विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि सञ्चालन हुँदैछ। अभियानले महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार, नागरिक समाज र समुदायबीच सहकार्य तथा सामूहिक प्रतिबद्धताको आवश्यकता औँल्याउँदै आएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महिला तथा बालिकामाथिको हिंसा सबै देश र समुदायलाई प्रभावित पार्ने विश्वव्यापी लज्जाको विषय भएको उल्लेख गर्दै यसको अन्त्यका लागि न्याय सुनिश्चित गर्न र रोकथामका प्रयासलाई तीव्र बनाउन आह्वान गर्नुभएको छ। उहाँले हिंसापीडितलाई कानुनी सहायता, स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श र सुरक्षित आश्रय उपलब्ध गराउन तथा हिंसासम्बन्धी कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारहरूलाई आग्रह गर्नुभएको छ ।
त्यसैगरी, संयुक्त राष्ट्रसङ्घकी उपमहासचिव अमिना मोहम्मदले हिंसापीडित महिलालाई संरक्षण र न्याय उपलब्ध गराउनुका साथै हिंसामा संलग्नलाई जवाफदेही बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभएको छ । महिला तथा बालिकामाथिको हिंसा अन्त्यका लागि कानुनी प्रतिबद्धतासँगै त्यसको प्रभावकारी कार्यान्वयन र सामाजिक चेतनामा परिवर्तन आवश्यक रहेको उहाँको भनाइ छ ।
