नागरिकता नहुँदा तीन पुस्ता नै पहिचानविहीन हुने चिन्ता

घटना दर्ता

काठमाडौँ,  मङ्सिर ९ ।  नागरिकता प्राप्त गर्न नसक्दा एउटै परिवारका तीन पुस्ता नै राज्यको नागरिक पहिचानबाट वञ्चित हुने जोखिम बढेको छ । कानुनी व्यवस्था हुँदाहुँदै पनि जन्मदर्ता, अभिभावकको पहिचान र आवश्यक कागजातको अभावमा धेरै व्यक्ति नागरिकता प्राप्त गर्नबाट वञ्चित भएका छन् । यसको प्रत्यक्ष असर उनीहरूको शिक्षा, रोजगारी, आर्थिक गतिविधि र राज्यबाट प्राप्त हुने सेवासुविधामा परेको छ ।

नेपालमै जन्मिएकी पम्फा दर्जी यसको एक उदाहरण हुनुहुन्छ। विवाह गर्दा श्रीमानको स्थायी ठेगाना र पारिवारिक पृष्ठभूमिबारे जानकारी नलिएकी उहाँ श्रीमानको मृत्युपछि नागरिकता प्राप्त गर्ने प्रक्रियामा कठिनाइ भोग्दै आउनुभएको छ । अहिले उहाँ मात्र होइन, छोराछोरी र नातिनातिनासमेत नागरिकताविहीन हुने अवस्था आएपछि उहाँ थप चिन्तित हुनुहुन्छ ।

रोजगारीका लागि ३५ वर्षअघि काठमाडौँ आउनुभएकी पम्फाका श्रीमान्को मृत्यु भएको दुई दशकभन्दा बढी भइसकेको छ। श्रीमान्को थातथलो र आवश्यक विवरण थाहा नहुँदा नागरिकता बनाउन समस्या भएको उहाँले बताउनुभयो। माइतीबाट नागरिकता बनाउने प्रयास गर्दा विवाह गरेर गएकी छोरीको नागरिकता श्रीमानको ठेगानाबाट बनाउनुपर्ने भन्दै फर्काइएको उहाँको भनाइ छ ।

नागरिकता नहुँदा उहाँका छोराहरूले रोजगारी, शिक्षा र बैंकिङ सेवासमेत प्राप्त गर्न सकेका छैनन्। ज्यामी काम गरेर जीविकोपार्जन गर्दै आएका छोराहरूले नागरिकता नभएकै कारण रोजगारीसमेत गुमाउनुपरेको उहाँले बताउनुभयो। नातिनातिनाको जन्मदर्ता हुन नसक्दा उनीहरू विद्यालय जानबाट समेत वञ्चित भएको उहाँको भनाइ छ।

“हामी तीन पुस्ता नै अनागरिक हुने भयौँ,” उहाँले भन्नुभयो, “म पनि यही देशमा जन्मिएकी हुँ। मेरो नागरिकता किन बन्दैन भन्ने बुझ्न सकेकी छैन।” आफूले भोगेको समस्या पछिल्लो पुस्ताले भोग्न नपरोस् भन्ने चाहनासहित उहाँ नागरिकता र नागरिक पहिचानका लागि विभिन्न निकायमा हारगुहार गरिरहनुभएको छ ।

नागरिकताविहीनताको समस्या पम्फाको परिवारमा मात्र सीमित छैन । सडक बालबालिकाका रूपमा हुर्किएका सञ्जय राई किशोरावस्थामा पुग्दासमेत नागरिकताविहीन हुनुहुन्छ । आफन्तको पहिचान र आवश्यक कागजात नहुँदा नागरिकता बनाउन नसक्नुभएका उहाँ तेक्वान्दो खेलाडीका रूपमा स्थापित हुनुभएको छ । विद्यालयमा प्रशिक्षण दिने काम पाए पनि नागरिकता नहुँदा पारिश्रमिक लिन समस्या भएको उहाँले बताउनुभयो ।

नागरिकता नहुँदा बैंक खाता खोल्न नसकिएको, सामाजिक सञ्जालको खाता अरूकै नाममा सञ्चालन गर्नुपरेको र मोबाइलको सिमकार्डसमेत अरूकै नाममा लिनुपर्ने बाध्यता रहेको उहाँको गुनासो छ। टिकटक खातामा आएको पाँच लाख रुपैयाँसमेत अरूले राखेको उहाँले बताउनुभयो। साथसाथ संस्थाको सहयोगमा प्रतिनिधिसभाका सांसदहरूसँगको छलफलमा उहाँले आफ्नो नागरिकता कहिले बन्ने भन्ने प्रश्नसमेत उठाउनुभएको थियो ।

त्यस्तै, बाल्यकाल पशुपति क्षेत्रमा सडकमा बिताउनुभएकी अञ्जु गुरु पनि नागरिकताविहीन हुनुहुन्छ। उहाँका श्रीमान् पनि सडकमा जीवन बिताउँदै आउनुभएको छ। दुवै जनासँग नागरिकता नहुँदा रोजगारी र सम्मानजनक जीवनयापनको अवसरबाट वञ्चित हुनुपरेको अञ्जुको भनाइ छ । “नागरिकता भएको भए रोजगारी पाउने थिएँ, भविष्य उज्ज्वल हुन्थ्यो। अहिले न पहिचान छ, न सम्मान,” उहाँले भन्नुभयो ।

साथसाथ संस्थाले हालै सडक बालबालिकासम्बन्धी गरेको सर्वेक्षणले पनि नागरिक पहिचानको समस्या गम्भीर रहेको देखाएको छ। सर्वेक्षणमा समेटिएका १५० जना सडक बालबालिकामध्ये ९३ प्रतिशतलाई जन्मदर्ताबारे जानकारी नभएको पाइएको छ। अधिकांशले जन्मदर्तालाई मौलिक अधिकारभन्दा पनि नागरिकता र रोजगारी प्राप्त गर्ने माध्यमका रूपमा बुझ्ने गरेको सर्वेक्षणले देखाएको छ।

सर्वेक्षणअनुसार ६५ प्रतिशत बालबालिकाका अभिभावकसँग आवश्यक कागजात छैनन् भने ३५ प्रतिशतका बाबुको पहिचान नखुलेको, बाबु बेपत्ता भएको वा वैवाहिक अवस्थासँग सम्बन्धित समस्या रहेको छ। त्यस्तै, ४५ प्रतिशतसँग कुनै पनि परिचयपत्र वा सरकारी कागजात नभएकाले उनीहरू औपचारिक रोजगारी तथा सरकारी सेवासुविधाको पहुँचबाट वञ्चित छन्।

संस्थाले जन्मदर्ता हुन नसकेका घटनाको वर्गीकरण गर्दा सँगै बसोबास गर्ने जोडीका तीन, बहुविवाहका २५, बाबुआमा दुवैको कागजात नभएका ४५, बाबुको कागजात नभएका ६५, आमाको कागजात नभएका २७, बाबु बेपत्ता भएका ४५ र विदेशी नागरिक बाबुको पहिचानसम्बन्धी पाँच घटना फेला पारेको छ।

कानुन, न्याय तथा मानव अधिकार समितिका सांसद मधुसूदन चौलागाईंले नागरिकताको हक मौलिक अधिकार भएकाले कुनै पनि नागरिक यसबाट वञ्चित हुन नहुने बताउनुभयो। अभिभावकको पहिचान नखुलेको वा आवश्यक कागजात प्रमाणित हुन नसकेको अवस्थामा नागरिकलाई सहज जीवनयापनका लागि अस्थायी परिचयपत्र उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने उहाँको धारणा छ ।

नागरिकता वितरण प्रक्रियालाई सहज बनाउन समितिमा छलफल गरी आवश्यक कार्यविधि निर्माणका लागि पहल गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । अधिकारकर्मी एवं साथसाथ संस्थाकी स्रोत कार्यकारी कविता शाहले नागरिकता र जन्मदर्ता प्राप्त गर्ने कानुनी व्यवस्था भए पनि त्यसको व्यावहारिक कार्यान्वयन जटिल हुँदा धेरै व्यक्ति नागरिक पहिचानबाट वञ्चित हुनुपरेको बताउनुभयो । कानुनी व्यवस्था पर्याप्त भए पनि कार्यान्वयन पक्ष कमजोर हुँदा नयाँ पुस्तासमेत अनागरिक बन्ने जोखिम बढेको उहाँको भनाइ छ ।

उहाँले नागरिकता तथा जन्मदर्तासम्बन्धी प्रक्रियामा देखिएका व्यावहारिक जटिलता हटाउँदै पहिचानविहीन नागरिकलाई राज्यको सेवा र अवसरमा जोड्न आवश्यक रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *