गठबन्धनसँग कुनै दृष्टिकोण, उदेश्य, कार्यक्रम र गन्तव्य छैनः उपाध्यक्ष पोखरेल

ishor pokharel

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको राजनीति दुई पोलबाट धु्रविकरण भएको बताउनु भएको छ । हरेक वर्ष विजया दशमीको अवसरमा सञ्चारकर्मीहरुसँग गर्दै आएको भेटघाट कार्यक्रमा संक्षिप्त सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

‘एउटा पोलको नेतृत्व एमालेले गरेको छ,’ उहाँले भन्नुभयो, ‘त्यहाँ राजनीतिक एजेण्डाहरु, राजनीतिक स्थायीत्व, आर्थिक विकास र समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सामाजिक सद्भाव अर्थात देश बनाउने सपनाहरु छन् ।’

उहाँले अर्कोतर्फको गठबन्धन रहेको बताउनुभयो । ‘अर्कोतर्फ गठबन्धन छ । यसका बारेमा मैले धेरै भन्नुपर्दैन,’ उहाँले भन्नुभयो, ‘जसको कुनै दृष्टिकोण छैन, उदेश्य छैन, कार्यक्रम छैन, गन्तव्य छैन । त्यो गठबन्धनको नामले चिनिएको छ । राष्ट्रिय राजनीतिको अर्को पोलको नेतृत्व यहि गठबन्धनले गरेको छ ।’ उहाँले यस्तो बेलामा मुलुकमा संघीय र प्रदेशको निर्वाचन हुन गइरहेको भन्दै मताधिकार प्रयोग गर्न आग्रह गर्नुभयो ।

‘नेपाली जनताले यो दुई पोलको राजनीतिमा कसलाई बलियो बनाउने हो भन्ने कुरा नेपाली जनताले फैसला गर्नुपर्छ र गर्नेछन् भन्ने मैले विश्वास लिएको छु,’ उहाँले सञ्चारकर्मीहरुलाई भन्नुभयो, ‘एमालेले गल्ती कमजोरी गरेको छ भने खवरदारी गर्नुहोस् । तर, राम्रो गरेको छ भने त्यो पनि निश्पक्ष भएर लेखिदिनुहोस् ।’ उहाँले तथ्य भन्दा फरक ढंगले कुराहरु बाहिर आउँदा त्यसको खवरदारी एमालले गर्ने गरेको पनि स्मरण गराउनुभयो ।