जसपा मन्त्रीहरूलाई सरकारबाट हटाउन सकस, हटाए अदालतको ढोका ढकढक्याउने
काठमाडौं, २५ असोज । सत्ता गठबन्धनबाट छुटेर गएका जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरूलाई सरकारबाट बर्खास्त गर्ने तयारी शुरु भए सँगै जसपा मन्त्रीहरू आफ्नो बर्खास्तीको कानुनी हैसियत खोज्न लागिपरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहानैदेखि गठबन्धनमा आवद्ध अन्य दलका नेताहरूसँग यसबारे छलफल चलाउनुभएको थियो । जसपा नेता एवं मन्त्रीहरूले यसबारे अनलाइन सञ्चार माध्यमहरूमा आएको समाचार पढेर थाहा पाए । त्यसपछि उहाँहरू सरकारले आफूलाई बर्खास्त गर्ने कुनै कानुनी आधार छ कि छैन भनेर आफू निकट कानूनविद्हरूको सल्लाह लिन व्यस्त हुनुभएको थियो ।
जसपाका एक वरिष्ठ नेताले बताउनुभए अनुसार अहिले निर्वाचन आचारसंहिता लागू भइसकेको कारणले मन्त्रिमण्डलमा कुनै नयाँ मन्त्री थप्ने वा भएका मन्त्रीलाई बर्खास्त गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन । जसपा निकट कानूनविद्हरूले पनि यही सल्लाह दिएको उहाँले बताउनुभयो ।
यसको सबैभन्दा ठूलो आधारका रूपमा उहाँहरूले २०७८ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव घोषणा गरिसकेपछि मन्त्रिमण्डलमा सात जना मन्त्रीहरू थप्नुभएको र सर्वोच्च अदालतको आदेशपछि थपिएका मन्त्रीहरू सबै निलम्बित भएको घटनालाई लिनुभएको छ ।
‘उक्त आदेशले निर्वाचन आचारसंहिता लागू भइसकेपछि प्रधानमन्त्रीले मन्त्रीहरू थप्नु हुँदैन भनेकोले यसले भएका मन्त्रीहरू हटाउनु हुन्न भन्ने पनि अर्थ दिन्छ,’ उहाँले भन्नुभयो ।
यदि प्रधानमन्त्रीले मन्त्रीहरू हटाए भने त्यसविरुद्ध मुद्दा लाग्ने जानकारी पनि कानूनविद्हरूले दिएको उहाँले बताउनुभयो । वर्तमान मन्त्रिमण्डलमा जसपाका तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंह गरी चार मन्त्रीहरू छन् ।
सत्तारुढ गठबन्धनबाट जसपा छुटेर गएपछि जसपा र गठबन्धनका अन्य दलहरूको सम्बन्ध नराम्ररी चिसिन पुगेको छ । सत्ता गठबन्धनमा आफूलाई थोरै सिट दिने मात्र नभई ठूला दलको हालीमुहालीसमेत हुन थालेपछि जसपा त्यहाँबाट निस्केर नेकपा (एमाले) सँग चुनावी तालमेल गर्न आइपुगेको थियो ।
अहिले जसपाले देशका ६५ जिल्लामा उम्मेदवारी दिएको छ भने त्यसमध्ये १२ जिल्लामा एमालेबीच चुनावी तालमेल गरेको छ । एमालेसँग चुनावी तालमेल गरे पनि जसपाले आफूहरू अझै सत्ता गठबन्धनमै कायम रहेको दावी गर्दै आइरहेको छ । गठबन्धनले भने आफ्ना बैठकहरूमा जसपालाई बोलाउन छोडिसकेको छ