शताब्दीपुरुष जोशीको निधनमा सार्वजनिक विदाको तयारी
काठमाडौं, असोज ३१ । वाङमय शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा आज सरकारले सार्वजनिक विदा दिएको हल्लाले गर्दा धेरै जना अन्यौलमा परेको छ । आज सार्वजनिक विदा भन्दै केही विद्यालयहरू बन्द गरिएको पनि थाहा भएको छ ।
तर सरकारले आज सार्वजनिक विदा भने दिएको छैन । हिजो जोशीप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न ललितपुर महानगरपालिका परिसर जानुभएका संस्कृति मन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा एक दिन सार्वजनिक विदा घोषणा गर्ने जानकारी दिनुभएको थियो । त्यसपछि आजै सार्वजनिक विदा भन्ने हल्ला चलेको थियो ।
संस्कृति मन्त्री श्रेष्ठले भने सरकारले एक दिन सार्वजनिक विदाको घोषणा गर्ने निर्णय गरिसकेको बताउनुभएको छ । तर त्यो विदा आज भने होइन । सम्भवतः भोलि मंगलवार सार्वजनिक विदा हुन सक्छ ।
सार्वजनिक विदाको लागि संस्कृतिमन्त्री श्रेष्ठले पहल गर्नुभएको भए पनि त्यसको औपचारिक घोषणा भने गृह मन्त्रालयले गर्नुपर्ने हुन्छ । गृहमन्त्री बालकृष्ण खाँण हाल उपत्यका बाहिर रहनुभएकोले हिजो यसबारे प्रक्रिया अघि बढाउन नसकिएको जानकारी पनि मन्त्री श्रेष्ठले दिनुभएको छ ।
गृह मन्त्री आज काठमाडौं आउनुहुने र आजै विदासम्बन्धी सूचना जारी हुने उहाँले बताउनुभएको छ ।
शताब्दीपुरुष जोशीलाई सय वर्ष पुग्नु अगाडि नै राष्ट्रबाट ‘वाङमय शताब्दी पुरुष’ उपाधि प्रदान गरिएको थियो । हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउनुभएको थियो भने नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।
