यमपञ्चकको चौथो दिन आज घर-घरमा गाई पूजा गर्दै

काठमाडौं, ८ कात्तिक । यमपञ्चकको चौथो दिन आज हिन्दु धर्मावलम्बीहरूले घर-घरमा गाइलाई पूजा गर्दै मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

वैदिक सनातन कालदेखि गाईलाई पवित्र मानी पूजा गर्दै आइरहेकाे छ । गाईकाे दूध आमाको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ ।

नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ।