दारीजुँगा उम्रियो अब प्रधानमन्त्री किन नबन्ने भन्ने कुरा सुन्दा मात्रै रमाइलो होः केपी शर्मा ओली

काठमाडौँ, १३ कात्तिक । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपालका नेताहरु बुढा भए, बुढाहरुले अब विश्राम लिनुपर्छ भन्ने बहसबारे रोचक तर्क गर्नुभएको छ । मैत्रीज्युजसँग कुराकानी गर्दै यहाँले नेपालका पाका नेताहरुले विश्राम लिनुपर्छ भनेर अहिले विभिन्न खाले अभियान नै चलाइरहेका बेला यस्तो देश चलाउने कुरा विना अनुभव, विना तरिका, विना अध्ययन नहुने बताउनु भयो ।

‘अहिले अनुभवी नेताहरुले विश्राम लिनुपर्छ भनेर अभियान चलाइएको छ,’ उहाँले भन्नुभयो, ‘देश चलाउने भन्ने कुरा ख्यालख्यालको कुरा हो ? चीनले नबुझी सी जिन्पिङलाई पार्टीले तेस्रो कार्यकालका लागि महासचिव छानेको हो ? अब तेस्रो कार्यकालका लागि राष्ट्रपति बनाउँदैछ । उहाँ अस्ति मार्चदेखि ७० वर्ष पुग्नुभयो । के त्यहाँ युवा नभएर उहाँलाई अघि सारेको हो ? अमेरिकामा युवा नभएर हो ? भारतमा युवा नभेट्टाएर मोदीजीलाई दोस्रो पटक प्रधानमन्त्री बनाएको हो ?’

उहाँले देश चलाउने कुरा विना अनुभव, विना तरिका, विना अध्ययन नुहुने बताउनुभयो । ‘ल म युवा १८ वर्ष पुगेँ, दारीजुँगा उम्रियो अब प्रधानमन्त्री किन नबन्ने ?’ यस्तो सुन्दा रमाइलो लाग्छ,’ उहाँले भन्नुभयो, ‘तर, अग्लो हिमाल चड्न पनि पहिला साना हिमालहरु चढाएर अभ्यास गराइन्छ । म युवा एकैचोटी सगरमाथा चढ्छु भनेर गयो भने दुर्घटना हुन्छ । म्याराथनु डौडमा पनि एकैचोटी दोडिन सक्दैन । भारत्तोलन एकै पटक उठायो भने उसको करङ भाँचिएर जिन्दगीभरी विस्तारमा पर्छ ।’

उहाँले अहिले यहाँ दलीय व्यवस्था नै हुनुहुँदैन, स्वतन्त्र पो हुनुपर्छ भन्ने बहस चलाएको प्रति पनि आलोचना गर्नुभयो । ‘संसारभरमा दलीय व्यवस्था छ, ती सबै मुर्ख भन्ने छ । दलीय व्यवस्था भएन भने नीति कसरी हुन्छ,’ उहाँले भन्नुभयो, ‘नीति व्यक्तिमा चल्ने कि ? दलमा ? एउटा ताप्लेजुङको स्वतन्त्रको नीति अर्को कञ्चनपुरकोले मान्दिनु पर्ने कि ? दार्चुलाको स्वतन्त्र सांसदको झापाकोले मान्दिनु पर्ने कि ? सोलुको सांसदले भनेको कपिलबस्तुको सांसलले मान्दिनु पर्ने कि ? स्वतन्त्रहरुको सरकार भनेको कस्तो हुन्छ ? एउटा–दुईवटा स्वतन्त्र व्यक्तिले जित्नु, स्वतन्त्रको हैसियतले संसदमा कुरा राख्नु एउटा पाटो हो । स्वतन्त्र पार्टी नाम राखेर स्वतन्त्र भन्ने कुरा ढाँट कुरा हो ।’