आज मुखः अष्टमीः शिवलिंगमा बुद्धको मुखौटा लगाएर मनाइने पर्व

काठमाडौं, १५ कात्तिक । आज मुखः अष्टमी । आजको दिनलाई बौद्ध धर्म र शैव धर्म बीच धार्मिक समन्वय गरी पर्व मान्ने अवसरका रूपमा लिने गरिन्छ ।

यस अवसरमा आज ललितपुरको कुम्भेश्वर (कोन्ती) महादेवको मन्दिरमा महादेवको शिवलिंगलाई बुद्धको मूर्ति टाँसिएको तामाको खोलले छोप्ने गरिन्छ । आजका दिन शिवलिंगलाई बुद्धको मूर्ति अंकित खोलले छोपेर पूजा गर्ने परम्परा रहँदै आएको छ ।

संस्कृतिविद् राजेन्द्रमान वज्राचार्यका अनुसार शिवलिंगलाई बुद्धको मूर्ति अंकित खोलले छोपेर पूजा गर्ने यो चलन विश्वकै लागि नौलो हो । उहाँ भन्नुहुन्छ– यस्तो चलन अन्त कतै रहेको पाइँदैन ।

कुम्भेश्वर महादेवको मन्दिरमा बुद्धमूर्ति अंकित खोलले शिवलिंग छोपेर गरिने पूजा सार्वजनिक गरिए पनि पशुपतिनाथको मन्दिरमा भने यस्तो पूजा सार्वजनिक गर्ने चलन रहेको पाइँदैन ।

उहाँका अनुसार पशुपतिनाथको मन्दिरमा पनि बुद्धको मूर्तिलाई शिवलिंगमा लगेर राख्ने चलन छ ।

पशुपतिनाथको मन्दिरमा माघ कृष्ण चतुर्दशीका दिन पनि बुद्ध धर्मसँग सम्बन्धित धार्मिक अनुष्ठान गर्ने चलन रहेको छ । उक्त दिन पशुपति क्षेत्रमा तिंकिचा जात्रा चलाउने गरिन्छ । यो जात्रामा भातको चैत्य बनाई पशुपति क्षेत्रमा परिक्रमा गराउने चलन छ ।

पछि उक्त चैत्यलाई पशुपतिनाथको मन्दिरभित्र प्रवेश गराई मुख्य शिवलिंगको शिरमा विराजमान गराइन्छ । पशुपतिनाथ प्रवेश गर्ने दक्षिण द्वारमा यसको छायाँ देखाउने गरिन्छ । त्यसैले यसलाई ‘छायाँ दर्शन’ पनि भन्ने चलन छ ।

शैव र बौद्ध धर्म बीच यस्तो समन्वय कसरी रहन गयो भन्ने सन्दर्भमा एउटा कथा पनि प्रचलित छ । यस कथाका पात्र हुन् विरुपाक्ष । पशुपतिनाथ मन्दिरको पछाडि आर्यघाटनिर विरुपाक्षेको मूर्ति पनि राखिएको छ । कथा अनुसार दुर्भाग्यवस आफ्नै आमासँग यौन समागन गर्न पुगेका विरुपाक्षले यो पापबाट मुक्त हुन पशुपतिनाथसँग सल्लाह माग्छन् । पशुपतिनाथले तामा पगालेर आफ्नो मुखमा हालेमा पापमोचन हुन सक्छ भनी सुझाव दिन्छन् ।

महादेवले यस्तो आत्मघाती सुझाव दिए भनेर विरुपाक्ष महादेवसँग रिसाउँछन् । त्यसपछि उनी बुद्धको शरणमा जान्छन् । बुद्धले सरल तरिकाबाट पापा मोचन हुने उपाय बताइदिन्छन् । विरुपाक्ष खुशी हुन्छन् । र, आफ्नो ज्यान लिने प्रयास गरेको भनी महादेवलाई लखेट्न थाल्छन् ।

महादेव पनि भाग्दै बुद्धकै शरणमा पुग्छन् । बुद्धले महादेवलाई कुनै मानिसलाई बरदान दिनु अघि गम्भीरतापूर्व विचार गर्नुर्छ, मनलागी वरदान दिनु हुँदैन भनी प्रवचन दिन्छन् । र, प्रवचन पछि महादेवलाई पनि बोधिसत्वकै मान्यता दिन्छन् ।

यसरी दुई प्रमुख धर्महरूका बीच समन्वय कायम भई सँगै पर्व मनाउने चलन शुरु भएको मानिन्छ । संस्कृतिविद् वज्राचार्य भन्नुहुन्छ, ‘बुद्धले महादेवलाई उपदेश दिएको दिनका रुपमा पनि आजको दिनलाई लिने गरिन्छ ।’