अन्तर्वार्ता

एमाले र माओवादी एक ठाउँ हुँदा त जितेँ भने अहिले त झनै सहज भएको छः भिमसेनदास प्रधान

काठमाडौं, १६ कार्तिक । काठमाडौं निर्वाचन क्षेत्र नं. ६ मा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार भिमसेनदास प्रधान यतिबेला घरदैलो कार्यक्रममा व्यस्त हुनुहुन्छ । यो भन्दा अघिल्लो चुनावमा पनि यही क्षेत्रबाट विजयी हुनुभएका प्रधान कांग्रेसका बुद्धिजीवी फाँटमा राम्रो पकड भएका नेता हुनुहुन्छ ।

कांग्रेसका चर्चित युवा नेता गगन थापालाई राजनीतिमा उतार्ने श्रय पनि प्रधानलाई दिने गरिन्छ ।

प्रधानसँग चुनावमा केन्द्रित भई गरिएको संक्षिप्त कुराकानी –

चुनाव प्रचार कसरी गइरहेको छ ?

अहिले त घरदैलो मात्रै हो । बिहान र बेलुकी घरदैलो । दिउँसो बैठक । घरदैलो जाँदा पनि झण्डा बोकेर जान पाइँदैन । माइकिङ पनि गर्न पाइँदैन । १७ गतेपछि अलि बाजागाजा सहित प्रचारमा गइन्छ होला ।

जितिन्छ त चुनावमा ?

किन नजित्ने ? ०७४ सालमा एमाले र माओवादी एकढिका भएर आउँदा त जितेको थिएँ । अहिले त एमाले बाहेक सबै पार्टीको गठबन्धन छ । धेरै भोट ल्याएर कसरी जित्ने, म त अहिले त्यतातिर पो लागेको छु ।

प्रतिस्पर्धा कोसँग हुने देखिन्छ ? एमालेसँगै हो ?

अब प्रतिस्पर्धा पनि के भन्ने । एमालेले सर्वेन्द्र खनालजीलाई उठाउनु भएको छ । जिते एमालेले जितेको, हारे कर्मचारीले हारेको भन्ने हिसाबले एमाले आइरहेको छ । मैले त त्यस्तो प्रतिस्पर्धा ‘फिल’ गरेको छैन ।

के छ त तपाईं जित्ने आधार ?

म सांसद भएको बेला यो क्षेत्रको लागि धेरै काम गरेको छु । त्यही हो आधार । काठमाडौंको खुलामञ्च बचाउने अभियान, रानी पोखरी बचाउने अभियान, गुठी विधेयक आन्दोलनको अभियान सबैमा म यहींकै जनतासँग काँधमा काँध मिलाएर कुदेको छु । यो सबैले देखेकै कुरा हो ।

विकास निर्माणको काम चाहिँ कतिको गर्नुभयो ?

त्यो पनि धेरै भएको छ । ठमेलमा ऐतिहासिक भगवान बहालको जीर्णोद्धार गरेको छु, सामाखुसीमा पूरै स्ट्रिट लाइट राखिदिएको छु, २८ वडामा ढलको ठूलो समस्या थियो त्यो समाधान गरिदिएको छु । सबैभन्दा दुर्गम मानिने साँगामा प्रशस्त स्कुल, पार्क, क्लब भवनहरू बनाइदिएको छु । मनमैजुलाई पुरातात्विक शैलीमा निर्माण गरिदिएको छु, धर्मस्थलीमा ठूलो बाटो बनाइदिएको छु । यो बाहेक अरु पनि धेरै छन् ।

आगामी योजनाहरू चाहिँ के के छन् ?

अब फुटुङमा खुल्ला ठाउँहरू समेटेर एउटा शहर नै बनाउने मेरो योजना छ । गाउँमा छोराछोरी जम्मै विदेशमा छन् । वृद्धवृद्धाको बेहाल छ । उहाँहरूको लागि वृद्धाश्रम बनाउने पनि योजना छ । शहरी क्षेत्रको सम्पदा संरक्षणमा पूरै लाग्नेछु । व्यस्त शहर असनको चर्चित यिता चपाः पनि अब बनाइ छाड्नेछु । काठमाडौंको हकमा श्री कुमारी र श्री सेतो मत्स्येन्द्रनाथको रथ यात्रा हुने क्षेत्रका घरहरूलाई पूरै नेपाली मौलिक शैलीमा बनाउने योजना छ । यसले काठमाडौंको मौलिक स्वरुपलाई संरक्षण गर्नेछ ।

ग्रामिण क्षेत्रका सम्बन्धमा के योजना छ ?

अब काठमाडौंमा ग्रामिण क्षेत्र भनेकै त्यति छैन । तै पनि यहाँको पहाडी क्षेत्र र हरियाली क्षेत्रलाई जसरी भए पनि बचाउनु पर्दछ । विकासको लागि प्रकृतिलाई पनि बचाउनु पर्छ । पहिले पहिले यहाँ कति चराचुरुंगीहरू आउने गथ्र्यो, कति चमेरो उड्थ्यो । अहिले त्यो केही पनि छैन । त्यसलाई पनि बचाउनु आवश्यक छ ।