जुम्लामा नेपाली सेनाकाे हेलिकप्टर मार्फत मतपत्र ढुवानी

काठमाडाैं, १७ कात्तिक । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन आयोगले हेलिकप्टर मार्फत जुम्लामा मतपत्र ढुवानी गरेकाे छ ।

आयोगले नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट जुम्लामा मतपत्र पुर्याएको हो । नेपाली सेना नन्दाबक्स गणका गणपति रविन थापाले आज दुई पटक सेनाको हेलिकप्टरले जुम्लामा मतपत्र ओसारेको जानकारी दिनुभयो ।

उहाँका अनुसार विपद्का कारण कर्णाली राजमार्गबाट सहजै ढुवानी गर्ने अवस्था नभएपछि हेलिकप्टरमार्फत मतपत्र ढुवानी गर्नुपरेको हो ।

जिल्ला अदालत जुम्लाका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले निर्वाचन आयोगको समन्वयमा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट आज हेलिकप्टरमा प्रतिनिधिसभा समानुपातिकतर्फ ७७ हजार र प्रदेशसभा समानुपातिकतर्फ ७४ हजार मतपत्र गरी एक लाख ५१ हजार मतपत्र जुम्ला आइपुगेको जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी महेश शर्माले जुम्लामा आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि ६८ हजार छ सय ३८ मतदाता सङ्ख्या रहेको बताउनुभयो । उहाँका अनुसार प्रदेश (क) मा ३६ हजार सात सय ८३ र प्रदेश (ख) मा ३१ हजार आठ सय ५५ रहेको मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *