सामाजिक सद्भाव र संस्कृति जोड्ने केलादी मेला,जुन विश्वमै शालिग्राम पाइने एकमात्र नदी किनारमा लाग्छ
पाल्पा, १९ कात्तिक । कालीगण्डकी बेँसीको महत्वपूर्ण धार्मिक तीर्थस्थल केलादीघाटले सामाजिक सद्भाव र संस्कृतिलाई जोड्दै गएकाे छ । पाल्पा, स्याङ्जा र तनहुँको सङ्गमस्थलमा रहेको केलादीघाट यस क्षेत्रकै ठूलो धार्मिक गन्तव्यका रुपमा रहेको छ ।
यहाँ लाग्ने मेलाले सामाजिक सद्भाव, संस्कार र संस्कृतिलाई एकापसमा जोड्ने गरेको छ । स्थानीय उत्पादनको बजारीकरण, आफन्त तथा साथीभाइबीचको भेटघाट, मनोरञ्जन, पुण्य प्राप्ति गर्ने थलोको रुपमा यहाँका बासिन्दाले यो स्थललाई लिने गरेका छन् ।
विशेष गरी हरिबोधनी एकादशी पर्वका अवसरमा लाग्ने केलादीघाटको मेलाले कालीगण्डकी बेँसीको रहनसहन, संस्कार संस्कृति, सामाजिक भावनाको विकासलाई एकताबद्ध बनाएको छ । यस मेलाले फरक समुदायलाई एकै ठाउँमा पनि जोडेको छ ।
धादिङ जिल्लाको गङ्गा जमुना गाउँपालिकाका सरबहादुर तामाङ पहिलोपटक केलादी मेला अवलोकन गर्न आउनुभयो । केलादीको नाम धेरै सुनेको तर आउने अवसर नमिलेकाले यस पटकको मेलमा धान राख्ने भकारी बिक्री गर्ने सिलसिलामा यहाँ आएको बताउनुभयो ।
“केलादी मेलाले विभिन्न समुदायलाई एकै ठाउँमा जमघट गराउने माध्यम बनाइदिएको रहेछ, सामाजिक सद्भावको विकास र केही नयाँ कुरा सिक्ने अवसर जुराएको छ, यहाँको सिकाइ अन्यत्र पनि प्रयोग गर्नु अति उपयोगी हुनेछ, यसले एकापसमा आत्मीयताको भावना बढाउँदै जानेछ”, उहाँले भन्नुभयो ।
यहाँ लाग्ने मेला हेर्ने र स्थानीय उत्पादनको व्यापार गर्न यसपटक केलादीमा आएको तनहुँ जिल्ला भिमाद बस्ने खुमबहादुर थापाले बताउनुभयो । एकादशीका बेला यसभन्दा अघिल्ला वर्षमा उहाँ चितवनलगायत अन्य स्थानमा सुन्तलाको व्यापार गर्न जानुहुन्थ्यो । सामाजिक रीतिरिवाज, सम्बन्ध स्थापना, अनुशासन, मेलमिलाप, आपसी सहयोगजस्ता सम्बन्ध विस्तार हुने जानकारी पाएपछि अन्यत्रको मेला छाडेर यस पटक व्यापार पनि हुने र मेला पनि भर्ने उद्देश्यले यहाँ आएको उहाँले बताउनुभयो ।
“अन्य ठाउँको तुलनामा यहाँको मेला बेग्लै खालको पाइयो, नयाँ ठाउँ भए पनि नौलोपनको आभास भएन”, उहाँले भन्नुभयो, “भाइचाराको सम्बन्ध स्थापित, पारिवारिक र आनन्ददायी वातावरण देख्दै लोभलाग्दो छ, मेलामा दश क्विण्टल सुन्तलाको व्यापार पनि भयो” । केलादी मेलामा विशेष गरी सुन्तला, सखरखण्ड, केरा, तरुल, बाँसजन्य सामग्रीको राम्रो व्यापार हुन्छ ।
यी सामान खरिद गर्नकै लागि पनि टाढाबाट मानिसहरु मेलामा आउने गर्दछन् । बाँसबाट बन्ने आकर्षक सामान खरिद गर्नेको ठूलो सहभागिता हुन्छ । पछिल्ला वर्षमा भने यहाँको मेलामा माटोबाट तयार पारिएको सामग्री भने देखिएन । उत्पादन नभएपछि माटोबाट बनेका सामग्री मेलामा पाउनै छाडिएको हो ।
स्याङ्जा चापाकोट नगरपालिका–६ बस्ने तिलबहादुर थापाले बर्सेनि यहाँको मेलामा सुन्तलाको व्यापार गर्दै आउनुभएको छ । मेलाको मुख्य आकर्षणमा सुन्तला पनि परेकाले घरमा उत्पादन भएका सुन्तला बिक्रीका लागि उहाँ यहाँ आउने गर्नुभएको हो । मेलाले स्थानीयस्तरका उत्पादन व्यापार गर्ने राम्रो अवसर मिलेको थापाले बताउनुभयो ।
यस वर्षको एकादशीको अवसरमा लागेको मेला करिब पाँच हजारभन्दा बढीले अवलोकन गरेको अनुमान गरिएको छ । पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासीलगायत विभिन्न जिल्लाबाट भक्तजन मेला अवलोकन गर्न भित्रिएका थिए । पछिल्लो समय सडक सुविधा विस्तार, केलादीघाटमा पक्की पुल भएसँगै मेला हेर्न जाने बढ्दै गएका हुन् ।
केलादीघाट ऐतिहासिक र पौराणिकघाट हो । लामो समयदेखि हरिबोधनी एकादशीका दिन यहाँ तोरण तार्ने गरिँदै आइएको छ । पहिला भक्तजन स्नान गर्न मात्रै आउथे भने अहिले मनोरञ्जन, संस्कृतिको संरक्षण र चाडबाडलाई बढी महत्व दिएर आउनेको सङ्ख्या बढ्न थालेको स्थानीयवासी घनश्याम खनालले बताउनुभयो ।
नेपाली धर्म, अध्यात्म, वैदिक सनातन र सभ्यतामा जोडिएका जति पनि सांस्कृतिक पर्व छन् तिनमा धार्मिक र आध्यात्मिक महिमा पनि उत्तिकै छ । विश्वमै शालिग्राम पाइने एकमात्र नदी भएकाले शालिग्राम जननी माताका रुपमा लिइने यस नदीमा तोरण तारेमा जन्मजन्मान्तरसम्म सामाजिक र धार्मिक दृष्टिले गरिएकासबै पाप नाश भएर जाने धार्मिक विश्वासले पनि एकादशी मेलामा कालीगण्डकी नदीमा तोरण तार्ने गरिन्छ ।