बेनी-जोमसोम सडकका पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीव्र

पहिरो नियन्त्रण

काठमडाौँ, असोज १ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरो प्रभावित क्षेत्रमा सडक स्तरोन्नतिको काम तीव्र पारिएको छ ।

बेनी-जोमसोम-कोरला सडक योजना कार्यालयले म्याग्दीको गलेश्वरदेखि मुस्ताङको लेते-सेतोखोला क्षेत्रसम्म यसअघि ठेक्काबाट हटाइएका पहिरो प्रभावित क्षेत्रमा बाँकी सडक स्तरोन्नतिको कामलाई अघि बढाएको हो । विभिन्न प्याकेजमा ठेक्का लगाएर पहिरो नियन्त्रण, नदी कटान रोकथाम, पर्खाल निर्माण तथा सडक ढलानको काम भइरहेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार बर्खायाम तथा कोरला नाकातर्फ आवतजावत गर्ने सवारीसाधनको चापका बाबजुद निर्माण कार्यलाई निरन्तरता दिइएको छ। यसअघि ठेक्काबाट हटाइएका पहिरो प्रभावित क्षेत्रमा काम भइरहेको र बाँकी जोखिमयुक्त क्षेत्रमा समेत ठेक्का लगाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

आयोजनाका सूचना अधिकारी इञ्जिनियर बाबुसाहेबकुमार बैठाका अनुसार राहुघाट, घुमाउनेताल, चमेरे र बैसरी क्षेत्रमा एक किलोमिटर दुई सय मिटर सडक ढलान तथा विभिन्न स्थानमा दुई हजार तीन सय घनमिटर ग्यावियन, प्लम र कङ्क्रिट पर्खाल निर्माणका लागि सात करोड ३० लाख रुपियाँमा शङ्करश्री-क्रियटिभ जेभीसँग ठेक्का सम्झौता भएको छ। गत वैशाखमा सम्झौता गरेको उक्त कम्पनीले बर्खायाममा समेत निर्माण कार्यलाई निरन्तरता दिएको छ।

त्यसैगरी रु आठ करोडमा ठेक्का सम्झौता गरेको कालीमाता–थापाकाजी–रसुवा जेभीले कुनौटा, बेगखोला, भिरकाटे र रातोपानी क्षेत्रमा टेवा पर्खाल, कल्भर्ट निर्माण तथा सडक ढलानको काम गरिरहेको छ। भिरकाटे क्षेत्रमा विस्फोटक पदार्थ प्रयोग गरी पहाड फुटाएर सडक विस्तार गर्ने काम भने बर्खायाम र सवारीसाधनको चापका कारण रोकिएको आयोजनाले जनाएको छ।

ठेक्का सम्झौताअन्तर्गत एक हजार आठ सय ९० घनमिटर ग्यावियन जाली लगाउने, प्लम तथा कङ्क्रिट पर्खाल निर्माण गरी सडक संरक्षण गर्ने र करिब दुई किलोमिटर सडक ढलान गर्ने योजना रहेको इञ्जिनियर बैठाले बताउनुभयो। उक्त सडक ढलानका लागि चार हजार तीन सय ७१ घनमिटर सामग्री प्रयोग हुने उहाँको भनाइ छ ।

सवारीसाधनको आवतजावतमा समेत समस्या हुने गरी जोखिमयुक्त बनेका सिरुवारी, तातोपानीलगायत क्षेत्रमा पहिरो नियन्त्रण र सडक स्तरोन्नतिका लागि प्राविधिक अध्ययन भइरहेको छ ।

यसअघि रु २५ करोडमा विभिन्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएका बैसरी, खामभित्ता, गुइठे, लाटाखोला, रुप्से र सेतोखोला क्षेत्रको सडक स्तरोन्नतिको कामसमेत अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

कमजोर भूबनोटका कारण कालीगण्डकी करिडोरको म्याग्दी खण्डमा बर्खायाममा बाढीपहिरोका कारण यातायात अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ। सोही अवस्थालाई ध्यानमा राखेर सडक स्तरोन्नति र पहिरो नियन्त्रणलाई प्राथमिकताका साथ अघि बढाइएको आयोजना प्रमुख शर्माले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *