निर्वाचनमा आउनसक्ने चुनौतीलाई सामना गर्न महानिरीक्षक सिंहको निर्देशन
काठमाडाैं, २२ कात्तिक । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले निर्वाचनका समयमा आउनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न तयार रहन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
उहाँले सोमबार साँझ प्रदेश प्रहरी प्रमुख, समादेशकहरू, प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख, जिल्ला प्रहरी प्रमुख र गणका प्रमुखलाई भर्चुअल माध्यामबाट सम्बोधन गर्दै निर्वाचन सुरक्षामा कुनै द्धिविधा हुन नदिन निर्देशन दिनुभएको हो । “हालसम्म निर्वाचन सुरक्षासम्बन्धी भएको तयारी र निर्वाचन अनुकूल वातावरण बनाउने गरी भएका प्रयास सकारात्मक छ”, उहाँले भन्नुभयो ।
प्रहरी महानिरीक्षक सिंहले निर्वाचनसम्बन्धी केन्द्रको रणनीति, केन्द्रबाट भएको परिपत्र र निर्देशनलाई बुथ कमाण्डर तहसम्म पुर्याइ निर्वाचन सुरक्षामा कुनै द्विविधा हुन नदिन निर्देशन दिनुभयो ।
उहाँले निर्वाचन राष्ट्रिय राजनीतिको दृष्टिले महापर्व भएकाले निर्वाचनमा आउनसक्ने चुनौतीलाई सामना गर्न, निर्वाचनमा केही उच्शृङ्खल तत्वले बिथोल्न खोज्छन् भन्ने त्यसप्रति सजग रहन निर्देशन दिनुभयो ।
निर्वाचन सुरक्षाका क्रममा कमाण्डरको व्यावसायिकता बुथमा खटिने प्रहरी कर्मचारीले गर्ने कार्यबाट झल्कने र त्यही नै कमाण्डरको मूल्याङ्कन हुने प्रहरी महानिरीक्षक सिंहले बताउनुभयाे । उहाँले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।
अपराध अनुसन्धान विभागका प्रमुख एवं केन्द्रीय निर्वाचन सेलका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले म्यादी प्रहरीको सहयोग लिई निर्वाचनलाई शान्तिपूर्ण बनाउन कुनै कसर बाँकी नराख्न साथै स्रोत–साधनको समुचित प्रयोग गरी निष्पक्ष तवरले निर्वाचन सम्पन्न गर्नसमेत निर्देशन दिनुभयो ।
