तोसिमा कार्कीलाई आयोगकाे निर्देशन: घन्टी बजाएर प्रचार नगर्नु
काठमाडाैं, २३ कात्तिक । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. तोसिमा कार्कीलाई आफ्नो चुनाव चिह्न घन्टी बजाउँदै चुनाव प्रचार नगर्न निर्देशन दिएको छ।
आयोगको निर्वाचन आचारसंहिता अनुगमन समितिले कार्कीलाई फोनमार्फत यस्तो निर्देशन दिएको हाे।
कार्कीले भनिन् ‘मलाई आचारसंहिता अनुगमन समितिबाट भनेर फोन आएको थियो। उहाँले घन्टीले ध्वनि प्रदूषण भएको उजुरी परेको जानकारी गराउँदै घन्टी बजाउँदै चुनावी प्रचार नगर्न निर्देशन दिनुभयो’।
कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुन्। उनकाे चुनाव चिह्न घन्टी हो।
निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ४ मा १३ ले जुलुस, आमसभा वा भेला गर्दा पालना गर्नुपर्ने आचरणबारे उल्लेख गरेको छ। यसअनुसार उम्मेदवारले आफ्नो चुनाव चिह्न बोकेर प्रचारप्रसारमा जान पाइँदैन।
उक्त आचारसंहिताको खण्ड (घ) मा ‘जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अंकित लोगो, कपडा, टोपी, टि-सर्ट, मास्क वा लकेट वा झोला बोक्न नहुने’ उल्लेख छ।
