‘मौन अवधि’ वा ‘शून्य समय’ होइन अब ‘स्थिर समय’

काठमाडौं, २९ कार्तिक । हरेक निर्वाचनमा मतदान शुरु हुनु अघिको ४८ घन्टाको समयलाई ‘मौन अवधि’ भन्ने गरिन्छ । यो धेरै अघिको कुरा भयो । पछि यसलाई ‘शून्य समय’ भन्न थालियो । गत स्थानीय निकायको निर्वाचनमा ‘शून्य समय’ पदावली नै बढी प्रयोग भएको थियो ।

तर निर्वाचन आयोग यो अवधिलाई ‘मौन अवधि’ वा ‘शून्य समय’ दुवै भन्नु उपयुक्त नभएको ठान्दछ । निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारी भन्नुहुन्छ, ‘हाम्रो निर्वाचन सम्बन्धी कुनै पनि कानून, नियममा मौन अवधि वा शून्य समय भन्ने शब्द प्रयोग गरिएको पाइँदैन ।’

‘अहिले हामीलाई लागेको छ, यो अवधिलाई जनाउ दिन यी दुवै शब्द उपयुक्त छैन । उपयुक्त शब्द भनेको ‘स्थिर समय’ हो जस्तो लाग्छ । अहिले हामी ‘स्थिर समय’ नै प्रयोग गर्दैछौं’ भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार मतदान हुने समयको ठीक ४८ घन्टा अघिदेखि यो समय शुरु हुन्छ । अहिले मंसिर ४ गते बिहान ७ बजेदेखि मतदान शुरु हुने भएकोले मंसिर १ गते राति १२ बजेदेखि ‘स्थिर समय’ शुरु हुनेछ ।

निर्वाचनसम्बन्धी कानुन अनुसार स्थिर समय शुरु हुनेबित्तिकै चुनाव प्रचार प्रसारसम्बन्धी सम्पूर्ण गतिविधि निषेध हुनेछ । यदि कसैले गरेको पाइएमा निर्वाचन कानुन अनुसार सजाय हुने व्यवस्था छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *