विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न सर्वोच्च अदालतले खाेल्याे बाटो
काठमाडाैं, ३० कात्तिक । विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न सर्वोच्च अदालतले बाटो खोलिदिएको छ।
सर्वोच्च अदालतले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण शुल्क लिएर गर्न पाइने आदेश संगै बाटो
खुलेकाे हाे ।
यसअघि सर्वोच्चले यसरी शुल्क लिने कार्य नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
नेपालमा विश्वकप प्रसारणका लागि मिडिया हबले शुल्क बुझाएर फिफाबाट अनुमति पाएको थियो । आफूले तिरेको रकमको केही अंश दर्शकबाट उठाउने भन्दै उसले लाइभ हेर्नका लागि निश्चित शुल्क तोक्ने तयारी गरेको थियो । त्यसैबीचमा अदालतमा रिट परेको थियो ।
अदालतले मिडिया हब प्रालि तथा टेलिभिजन सेवा प्रदायकले प्रतिग्राहक ५ सय रूपैयाँ लिने निर्णय कार्यान्वयन नगर्न यसअघि दिएको आदेशलाई निरन्तरता नदिने आदेश गरेको हाे।
अधिवक्ता किशोर पौडेलले दायर गरेको रिटमाथि प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले यस्तो आदेश गरेको हो।
सूचना विभागबाट अनुमति लिएर प्रत्यक्ष प्रशारणको कोड आयात गरेको र यस्तो प्रत्यक्ष प्रशारण हेर्ने या नहेर्ने कुरा ऐच्छिक भएको भन्दै यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिने इजलासको आदेशमा उल्लेख छ।
बिश्वकप फुटवल निःशुल्क देखाउनुपर्ने जिकिर गर्दै दुई अधिवक्ताले दायर गरेको निवेदनमा न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले २२ कात्तिकमा विश्वकप प्रशारणको तयारीलाई यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
