सबै बालबालिकाप्रति राज्यको समान दायित्व छ, शिक्षा प्रणालीमा सुधार गर्दै समानता कायम गर्छौँ : कार्यवाहक प्रमुख डंगोल
काठमाडौँ, ९ मङ्सिरः काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सबै बालबालिकाप्रति राज्यको समान दायित्व रहेको उल्लेख गर्दै फरक आवश्यकता भएका बालबालिकालाई समान शैक्षिक अवसर र सामाजिक व्यवहार सुनिश्चित गर्न शिक्षा प्रणालीमा सुधार गरिने बताउनुभएको छ । उहाँले समतामूलक र समावेशी सहर निर्माणको अभियानअन्तर्गत अटिजम भएका बालबालिकाका लागि स्कूल तथा अनुसन्धान केन्द्र निर्माण सुरु गरिएको बताउनुभयो ।
कार्यवाहक प्रमुख डंगोलले आज काठमाडौँ महानगरपालिका–२९ मा अटिजम भएका बालबालिका, अभिभावक, जनप्रतिनिधि तथा स्थानीयवासीको उपस्थितिमा केन्द्रको जगपूजा तथा शिलान्यास गर्नुभयो । वडाध्यक्ष कुश ढकालसहित जनप्रतिनिधि र स्थानीयवासीको सहभागितामा भवन निर्माणको औपचारिक सुरुआत गरिएको हो ।
काठमाडौँ महानगरपालिकाद्वारा अटिजम भएका बालबालिकाका लागि स्कूल तथा अनुसन्धान केन्द्र निर्माण सुरु
शिलान्यासपछि उहाँले अटिजम भएका बालबालिकाका लागि विद्यालय र अनुसन्धान केन्द्र निर्माण गर्ने महानगरपालिकाको सपना तथा अभिभावकको अपेक्षा पूरा हुने चरणमा पुगेको बताउनुभयो । अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई अलग्याउने नभई फरक आवश्यकता भएका बालबालिकालाई समान सामाजिक व्यवहार र अवसर प्रदान गर्ने उद्देश्यले विशेष कार्यक्रम अघि बढाइएको उहाँको भनाइ थियो ।
कार्यवाहक प्रमुख डंगोलले सरकार, अभिभावक र पेशाकर्मीबीचको साझेदारीबाट कार्यक्रमलाई दिगो बनाउन सकिने उल्लेख गर्दै भवन निर्माण सम्पन्न हुँदासम्म सञ्चालन कार्यविधि तयार गरिने जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रलाई व्यक्तिको प्रयासमा मात्र निर्भर नराखी प्रणालीमा आधारित ढङ्गले सञ्चालन गरिनेछ ।
वडाध्यक्ष ढकालले अटिजम भएका बालबालिकाको हेरचाहमा अभिभावकले ठूलो समय र श्रम खर्चिनुपर्ने अवस्था रहेको बताउनुभयो । अभिभावकको यही कठिनाइलाई सम्बोधन गर्न विद्यालय निर्माण गर्नु वडाकै गौरवको काम भएको उल्लेख गर्दै उहाँले यसबाट अन्य स्थानीय तहलाई पनि यस्ता विद्यालय निर्माण गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
वडा नं. २९ को प्रशासनिक भवनको पूर्वतर्फ निर्माण हुने केन्द्र पाँचतले हुनेछ । भूमिगत तलासहित भवनको कुल क्षेत्रफल १८ हजार ५०० वर्गफिट रहनेछ । भूमिगत तलामा ३० वटा दुईपाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिने व्यवस्था हुनेछ भने पहिलो, दोस्रो र तेस्रो तलामा तालिम तथा प्रशिक्षण कक्ष र चौथो तलामा प्रशासन तथा अनुसन्धान कक्ष रहनेछन् । पाँचौँ तलामा बार्दली निर्माण गरिनेछ ।
भवनमा आठ जना क्षमताको लिफ्ट, पहुँचयुक्त शौचालय तथा कोठा र बालबालिकाका लागि खुला खेल्ने स्थानसमेत रहनेछ । केन्द्रबाट अटिजम भएका बालबालिकाको सीप तथा ज्ञान अभिवृद्धि, तालिम, अध्ययन अनुसन्धान र अभिभावकलाई आवश्यक सहयोग उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
भवन निर्माणका लागि १० करोड ९१ लाख ७९ हजार ६०२ रुपैयाँ लागत अनुमान गरिएकामा सार्वजनिक खरिद प्रक्रियाबाट ९ करोड ७७ लाख ४५ हजार ६२६ रुपैयाँमा निर्माण सम्झौता भएको छ । निर्माण पक्षलाई मङ्सिर ३ गते कार्यादेश दिइएको छ । सम्झौताअनुसार २०८४ चैत मसान्तभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ ।
केन्द्र निर्माण सुरु भएपछि कार्यक्रममा सहभागी अभिभावकले खुसी व्यक्त गर्दै यसले वर्षौंदेखि भोग्दै आएको हेरचाह, शिक्षा र आर्थिक भारको समस्या कम हुने अपेक्षा गरेका छन् । अभिभावक सुनिता प्याकुरेलले केन्द्र निर्माणले आफूहरूलाई बल्ल राहतको अनुभूति भएको बताउनुभयो । अर्की अभिभावक मीना ढुङ्गानाले ३२ वर्षदेखि छोराको पूर्णकालीन हेरचाहमा समय बिताउनुपरेको अनुभव सुनाउँदै यस्तो सुविधा पहिले नै उपलब्ध भएको भए आफूले पनि अन्य काम गर्ने अवसर पाउने बताउनुभयो ।
अभिभावक मिसान वान्तावाले निजी क्षेत्रमा अटिजम भएका बालबालिकाको सेवाका लागि मासिक ४० देखि ४५ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै महानगरपालिकाको पहलले आर्थिक भार कम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
अटिजम केयर नेपालका अध्यक्ष डा. सुनिता मलेखु अमात्यले महानगरपालिकाको अभिभावकत्व प्राप्त हुँदा अटिजम भएका बालबालिका र उनीहरूका परिवारमा आशा जागेको बताउनुभयो । विशेष स्कूल तथा पुनःस्थापना केन्द्रका अध्यक्ष सविता उप्रेतीले सरकार, अभिभावक र बालबालिकालाई एउटै ठाउँमा जोड्ने महानगरपालिकाको पहल प्रशंसनीय रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा अटिजम तथा बौद्धिक अपाङ्गताको क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले पनि केन्द्र निर्माण सुरु भएकोमा खुसी व्यक्त गरेका थिए । वडा सदस्य रेनु श्रेष्ठले यसलाई वडाको गौरवको योजना बताउनुभयो भने वडा सचिव शम्भु बरालले भवन निर्माणले लोककल्याणकारी राज्यको अवधारणालाई व्यवहारमा उतार्ने सन्देश दिएको उल्लेख गर्नुभयो ।
भवनको डिजाइन सार्वजनिक निर्माण विभागले तयार गरेको हो ।
