पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा अञ्जनको गाेलले नेपाल विजयी

काठमाडौं, ३० कात्तिक । पाकिस्तानविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न भएकाे खेलमा अञ्जन बिष्टकाे निर्णायक गोलले नेपालले जित हात पारेको हो ।

बिष्टले खेलको ८३ औं मिनेटमा सुनिल बलको क्रसलाई पोस्टको दिशा दिएका थिए ।

नेपालले २००८ पछि पहिलोपटक पाकिस्तानलाई पराजित गरेको हो । त्यसयता भएका पाँच खेलमा नेपालले तीन हार र दुई बराबरीको नतिजा निकालेको थियो । दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।

४५ औं मिनेटमा अब्दुल्लाह इकवलको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा पाकिस्तान अग्रता लिनबाट चुक्यो । ५४ औं मिनेटमा विमल घर्ती मगर वान भर्सेस वानमा चुक्दा नेपालले अग्रता लिन सकेन ।

यही खेलमार्फत मिडफिल्डर आवास लामिछानेले सिनियर टोलीका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका छन् । उनले ५८ औं मनेटमा सेसेहाङ आङ्दाम्बेको स्थानमा मैदान छिर्दै अन्तर्राष्ट्रिय डेब्यु गरेका हुन् । घरेलु मैदान दशरथ रंगशालामा नेपालको यो ५० औं खेल हो ।

अञ्जनले गत असोजमा दशरथ रंगशालामै भएको बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेका थिए ।