पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण

कर्णाली, ९ मङ्सिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडीमा दोस्रो दिन चार नयाँ राष्ट्रिय कीर्तिमान कायम भएका छन्। बाँकेको नेपालगञ्जस्थित पौडी पोखरीमा जारी प्रतियोगितामा पुरुष ४०० मिटर, पुरुष १०० मिटर ब्रेस्टस्ट्रोक, महिला ८०० मिटर फ्रिस्टायल र पुरुष ४ गुणा २०० मिटर फ्रिस्टायल रिलेमा नयाँ कीर्तिमान बनेका हुन्।

पुरुष ४०० मिटरमा सुदूरपश्चिमका अर्थव सिंहले चार मिनेट ५६ दशमलव ७६ सेकेन्डमा दूरी पूरा गर्दै आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्नुभयो। यसअघि उहाँले सन् २०२५ मा चार मिनेट ५८ दशमलव ३४ सेकेन्डको कीर्तिमान बनाउनुभएको थियो। सिंहले स्वर्ण जित्दा नेपाल पुलिस क्लबका मयोन श्रेष्ठले पाँच मिनेट ०७ दशमलव ५७ सेकेन्डसहित रजत तथा बागमतीका अरिक कर्माचार्यले पाँच मिनेट २६ दशमलव ९९ सेकेन्डसहित कास्य पदक प्राप्त गर्नुभयो।

महिला ८०० मिटर फ्रिस्टायलमा एनआरएनएकी लिली बोहराले नौ मिनेट ३४ दशमलव ०६ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्नुभयो। यसअघि उक्त स्पर्धामा नेपाल आर्मी क्लबकी डुअना लामाले १० मिनेट ०६ दशमलव ९२ सेकेन्डको कीर्तिमान कायम गर्नुभएको थियो। डुआनाले आफ्नै पुरानो कीर्तिमान सुधार गर्दै नौ मिनेट ५९ दशमलव ५४ सेकेन्डमा दूरी पूरा गरी रजत तथा नेपाल पुलिसकी देभान्सी जोशीले १० मिनेट ५८ दशमलव ५८ सेकेन्डमा कास्य पदक जित्नुभयो।

बागमतीका अभिव प्रधानले १०० मिटर फ्रिस्टायलमा एक मिनेट ०१ दशमलव ५१ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण जित्नुभयो। यसअघि प्रारम्भ भण्डारीको नाममा एक मिनेट ०३ दशमलव ३९ सेकेन्डको कीर्तिमान थियो। उक्त स्पर्धामा बागमतीका रिभान्तबहादुर श्रेष्ठले एक मिनेट चार सेकेन्डमा रजत तथा आर्मीका जादेन श्रेष्ठले एक मिनेट ०४ दशमलव ०३ सेकेन्डमा कास्य पदक प्राप्त गर्नुभयो।

पुरुष ४ गुणा २०० मिटर फ्रिस्टायल रिलेमा नेपाल पुलिस क्लबले आठ मिनेट ३२ दशमलव १३ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेको छ। इर्भिन श्रेष्ठ, आरुष अवाले, मयोन श्रेष्ठ र काल्किन श्रेष्ठ सम्मिलित पुलिस क्लबको टोलीले सन् २०१६ मा मनिष चित्रकार, शुभम श्रेष्ठ, अनुभव सुब्बा र शिरिष गुरुङले बनाएको नौ मिनेट १७ दशमलव ६८ सेकेन्डको कीर्तिमान तोडेको हो।

महिला ५० मिटर बटरफ्लाईमा एनआरएनएकी मिखा काया थापाले ३० दशमलव ७८ सेकेन्डमा स्वर्ण जित्नुभयो। नेपाल प्रहरीकी देभान्सी जोशीले ३२ दशमलव ८८ सेकेन्डमा रजत तथा बागमतीकी इरा अमात्य र आर्मीकी शिसोम्बुन राईले समान ३३ दशमलव ५६ सेकेन्डमा कास्य पदक जित्नुभयो।

पुरुष ५० मिटर बटरफ्लाईमा बागमतीका अभिव प्रधानले २६ दशमलव ०७ सेकेन्डमा स्वर्ण, पुलिसका इर्भिन श्रेष्ठले २७ दशमलव १४ सेकेन्डमा रजत तथा आर्मीका सौरेनबहादुर सिंह र असिम भण्डारीले समान २७ दशमलव ३२ सेकेन्डमा कास्य पदक प्राप्त गर्नुभयो।

महिला २०० मिटर फ्रिस्टायलमा एनआरएनएकी लिली बोहराले दुई मिनेट १४ दशमलव ०३ सेकेन्डमा स्वर्ण, आर्मीकी डुआना लामाले दुई मिनेट १४ दशमलव ४२ सेकेन्डमा रजत तथा एनआरएनएकी मिखा ताया थापाले दुई मिनेट १९ दशमलव ६८ सेकेन्डमा कास्य पदक जित्नुभयो।

पुरुष २०० मिटर फ्रिस्टायलमा पुलिसका इर्भिन श्रेष्ठले एक मिनेट ५९ दशमलव ४८ सेकेन्डमा स्वर्ण, पुलिसकै काल्किन श्रेष्ठले दुई मिनेट ०० दशमलव ८३ सेकेन्डमा रजत तथा आर्मीका अल्भिन महर्जनले दुई मिनेट ०५ सेकेन्डमा कास्य पदक प्राप्त गर्नुभयो।

महिला १०० मिटर ब्याकस्ट्रोकमा बागमतीकी आर्या महर्जनले एक मिनेट ११ दशमलव ९५ सेकेन्डमा स्वर्ण जित्दा एनआरएनएकी मिखा काया थापाले एक मिनेट १३ दशमलव ६२ सेकेन्डमा रजत तथा बागमतीकी रोयल प्रजापतिले एक मिनेट १४ दशमलव ४३ सेकेन्डमा कास्य पदक जित्नुभयो।

महिला ४ गुणा १०० मिटर मिड्ले रिलेमा बागमतीले पाँच मिनेट ०५ दशमलव ६९ सेकेन्डमा स्वर्ण जित्यो। नेपाल प्रहरीले पाँच मिनेट ११ दशमलव ७१ सेकेन्डमा रजत तथा आर्मीले पाँच मिनेट १५ दशमलव ८५ सेकेन्डमा कास्य पदक प्राप्त गरे।

मिक्स ४ गुणा ५० मिटर मिड्ले रिलेमा पनि बागमतीले दुई मिनेट ०२ दशमलव ४६ सेकेन्डमा स्वर्ण जित्यो। आर्मीले दुई मिनेट ०४ दशमलव ११ सेकेन्डमा रजत तथा प्रहरीले दुई मिनेट ०७ दशमलव ०८ सेकेन्डमा कास्य पदक प्राप्त गरे।

प्रतियोगिताको दोस्रो दिनसम्मको पदक तालिकामा बागमती प्रदेश नौ स्वर्ण, चार रजत र छ कास्यसहित १९ पदक लिएर शीर्ष स्थानमा छ। एनआरएनएले छ स्वर्ण, एक रजत र दुई कास्यसहित नौ पदक जित्दै दोस्रो स्थानमा रहँदा नेपाल प्रहरीले तीन स्वर्ण, सात रजत र आठ कास्यसहित १८ पदकका साथ तेस्रो स्थान हासिल गरेको छ।

चौथो स्थानमा रहेको आर्मीले दुई स्वर्ण, आठ रजत र आठ कास्यसहित १८ पदक जितेको छ। सुदूरपश्चिम एक स्वर्ण र दुई रजतसहित तीन पदकका साथ पाँचौँ तथा कोशी प्रदेश एक स्वर्णसहित छैटौँ स्थानमा रहेको आयोजकले जनाएको छ।

प्रतियोगिताको दोस्रो दिनसम्म पौडीमा कुल छ राष्ट्रिय कीर्तिमान बनेका छन्। पहिलो दिन पुरुष ५० मिटर ब्रेस्टस्ट्रोकमा कोशी प्रदेशका विकास कुमालले आफ्नै कीर्तिमान सुधार गर्दै ३० दशमलव ६४ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको थियो। महिलातर्फ ४०० मिटर आईएममा एनआरएनएकी लिली बोहराले पाँच मिनेट १७ दशमलव ०१ सेकेन्डको नयाँ कीर्तिमान कायम गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *