‘किङ्स कप’ राष्ट्रिय पुरुष भलिबल सुरु : गण्डकी, एपिएफ र आयोजकको विजयी सुरुआत

पुरुष भलिबल प्रतियोगिता

काठमाडौँ, मंसिर ९ । पोखरामा ‘किङ्स कप’ राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन गण्डकी प्रदेश, नेपाल एपिएफ क्लब र आयोजक किङ्स क्लब पोखराले विजयी सुरुआत गरेका छन् । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले उद्घाटन गर्नुभयो ।

पहिलो खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गर्दै तीन अङ्क जोड्यो । गण्डकीले पहिलो र दोस्रो सेट समान २५-१७ ले जितेको थियो । तेस्रो सेट १९-२५ ले गुमाए पनि चौथो सेट २५-२२ ले आफ्नो पक्षमा पार्दै जित सुनिश्चित गरेको हो ।

दोस्रो खेलमा नेपाल एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गर्‍यो । निकै प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो सेट २९-२७ ले जित्दा दोस्रो सेट १८-२५ ले गुमाएको थियो । तेस्रो सेट २५-१८ ले आफ्नो पक्षमा पारेको एपिएफले चौथो सेट २२-२५ ले पुलिसलाई सुम्पिएपछि खेल निर्णायक पाँचौँ सेटमा पुगेको थियो । पाँचौँ सेट १५-१३ ले जित्दै एपिएफले दुई अङ्क प्राप्त गर्दा पराजित पुलिसले एक अङ्कमा चित्त बुझायो ।

त्यसैगरी आयोजक किङ्स क्लब पोखराले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै तीन अङ्क जोड्यो । आयोजकले कोशीलाई २६–२४, २५-१८ र २५-२० को सेटमा हराएको हो ।

छ टोली सहभागी प्रतियोगिता राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुनेछ । प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल सङ्घ र गण्डकी प्रदेश भलिबल सङ्घ सहभागी छन् ।

प्रतियोगिताको विजेताले चार लाख रुपैयाँ, उपविजेताले दुई लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले एक लाख रुपैयाँ र चौथो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगिता उद्घाटन गर्दै मन्त्री गुरुङले खेलकुद क्षेत्रको विकासका लागि सरकारसँगै निजी क्षेत्र, क्लब, सङ्घसंस्था र खेलप्रेमी समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । किङ्स क्लबले पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न गरेको पहल प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले यस्ता प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

गण्डकी प्रदेशमा भलिबलप्रति आकर्षण र खेलाडीको प्रतिभा प्रशंसनीय रहेको बताउँदै उहाँले खेलाडीको प्रतिभाको सम्मान गरी खेलकुदलाई पेसा र भविष्य निर्माणको माध्यम बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतियोगिता संयोजक थमन गुरुङले राष्ट्रियस्तरमा पुरुष भलिबलको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *