गुल्मीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ जना घाइते

गुल्मी, ७ मंसिर। गुल्मीमा बुधबार राती जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

गुल्मीको सत्यवती गाउँपालिका-३ बाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० जीप कुढडाँडामा राति साढे २ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटननामा ४ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा सत्यवती गाउँपालिका-३ का जीप धनी ५१ वर्षीय झलक सोमै, ५५ वर्षीय टीका राहादी, ४७ वर्षीय रनबहादुर सिजापती र २५ वर्षीय मिलन तरामोको रहेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक कृष्णप्रसाद आचार्यले बताए ।

घाइते हुनेहरूमा सत्यवती-३ का ३३ वर्षीय कार्बालिन सोमै, ४३ वर्षीय जमुना सोमै, ३२ वर्षीय चेतमान सिङ्जाली, ४९ वर्षीय गिरबहादुर राहादी र खण्डन सोमै रहेको प्रहरीले जनाएकाे छ ।

घाइते ५ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए ।