बुंगमतीको रातो मत्स्येन्द्रनाथलाई मंसिर १३ गते ललितपुर सवारी गराइँदै

ललितपुर, ८ मंसिर । आराध्यदेव श्री रातो मत्स्येन्द्रनाथ (बुंगद्यः) लाई आउँदो मंसिर १३ गते बुंगमतीबाट सवारी चलाई ललितपुरमा विराजमान गराइने भएको छ । आज बिहान मंगलबजारको दिन हेरिने परम्परागत पाटीमा चार जना जोशीहरूले साइत हेरी मंसिर १३ गते श्री रातो मत्स्येन्द्रनाथलाई ललितपुरमा सवारी चलाउने निर्णय गरेको हो ।

रातो मत्स्येन्द्रनाथ अहिले बुंगमतीको मन्दिरमा विराजमान हुनुहुन्छ । रातो मत्स्येन्द्रनाथलाई छ महिना बुंगमतीको मन्दिरमा र छ महिना ललितपुरको तःबहालस्थित मन्दिरमा विराजमान गराइने परम्परा रहँदै आएको छ ।

आज निकालिएको साइत अनुसार मंसिर १३ गते रातो मत्स्येन्द्रनाथलाई काठको खटमा राखी बोकेरै ललितपुरको तःबहाल ल्याइ पुर्याइनेछ ।

बुंगमतीबाट ललितपुरतिर ल्याउनु चार दिन अघि मत्स्येन्द्रनाथलाई मन्दिरबाट बाहिर निकाली घाममा राखेर अनुहारमा रंग लगाउने गरिन्छ । यसलाई कलेवर फेर्ने भनिन्छ । कलेवर फेर्दा रंग लगाउने काम भने न्यकू थरका मानिसले गर्ने गरिन्छ ।

त्यस्तै मत्स्येन्द्रनाथको खट बोक्ने आठ जना पुजारीहरूले पनि आफूलाई चोख्याउने गरिन्छ । बुंगमतीबाट ललितपुरसम्म ल्याउँदा यही आठ जना पुजारीले मात्रै मत्स्येन्द्रनाथको खट बोक्नुपर्ने हुन्छ ।

सामान्यतया योमरि पूर्णिमा अगाडि नै रातो मत्स्येन्द्रनाथलाई ललितपुर ल्याउने चलन छ तथापि यो अनिवार्य भने नभएको बताइन्छ । यो वर्ष मंसिर २२ गते योमरि पूर्णिमा मनाइँदैछ ।

१३ गते ललितपुर ल्याइपुर्याइएको मत्स्येन्द्रनाथलाई वैशाखमा रथ यात्रा गरी भोटो देखाउने कार्य पश्चात पुनः बुंगमती नै फर्काउने गरिन्छ ।