गठबन्धनमा शुरु भयो ‘प्रधानमन्त्री’ को भाँडभैलो

काठमाडौं, २१ मंसिर । मंसिर ४ मा मतदान हुनु अघिका चुनावी सभाहरूमा भाषण गर्दा एमालेका नेताहरू अक्सर दावीका साथ भन्ने गर्दथे– यो चुनावमा यदि सत्ता गठबन्धनले बहुमत प्राप्त गर्यो भने को प्रधानमन्त्री बन्ने भन्नेमै पहिलो भाँडभैलो शुरु हुनेछ ।

नभन्दै सत्ता गठबन्धनभित्र त्यो भाँडभैलो शुरु भइसकेको छ । चुनावपछि राजनीतिको तेस्रो शक्ति र गठबन्धन भित्रको दोस्रो शक्ति बन्न सफल भएको नेकपा माओवादी केन्द्रले अब आफ्नै नेतृत्वमा सरकार गठन गर्ने मानसिकता बनाए सँगै गठबन्धनभित्र यो भाँडभैलो शुरु भएको हो ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई यस पटक आफ्नै पार्टी भित्र पनि अरुका लागि पद छोड्नुपर्ने दबाब छ । उहाँ यतिबेला पहिले पहिले जस्तो प्रधानमन्त्रीका एक्लो दावेदार हुनुहुन्न । उहाँलाई रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला जस्ता वरिष्ठ नेता मात्र होइन गगन थापा जस्ता नयाँ नेताले समेत चुनौती दिन थालेका छन् ।

यस्तो अवस्थामा माओवादी केन्द्रले गठबन्धन मात्र होइन ‘जोसुकैसँग’ मिलेर सरकार गठन गर्न आफू खुल्ला छौं भनी बनाएको मानसिकताले अर्को तनाब थपिदिएको छ ।

चुनावको नतिजा आउँदै गर्दा नै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरी ‘बधाई’ साटासाट गर्नुभएको थियो । अध्यक्ष ओलीले गर्नुभएको त्यो फोन वास्तवमा बधाई साटासाट बाहेक अर्को केही थिएन । तर माओवादी केन्द्रका अध्यक्ष दाहालले भने त्यही फोनलाई सरकार बनाउन गरिएको आमन्त्रण मान्नुभएको छ ।

त्यसो त आफूहरु अब जोसँग पनि सरकार गठन गर्न खुल्ला छौँ भनी माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले गर्नुभएको घोषणालाई महासचिव देव गुरुङले खण्डन गरिसक्नुभएको छ । तर महराको घोषणादेखि गुरुङको खण्डनसम्म पुग्दा बीचमा अरु नै केही चलखेल भइसकेको आशंका कांग्रेसका देउवाइतर नेताहरूले गर्न थालेका छन् ।

त्यही भएर भर्खरै प्रधानमन्त्रीका दावेदार गगन थापाले नेताहरूबीच कसले कति सरकार चलाउने भन्ने गोप्य तमसुक गरेर अब चल्दैन भनी आक्रोश पोखिसक्नुभएको छ ।
चुनावपछिको नयाँ समीकरणमा अब जसले सरकार बनाए पनि माओवादी केन्द्रको समर्थन नभई नहुने अवस्था छ । यति बेला माओवादी केन्द्र वि.सं २०५२ सालको राप्रपाको स्तरमा पुगेको छ ।

तर यो गठबन्धन बनाई बहुमत पुर्याउन आफ्नो पनि योगदान रहेको दावी गर्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एक कार्यकाल आफूले पनि सरकार चलाउने अवसर पाउनुपर्ने दावी गर्नुभएको बुझिएको छ ।

प्रधानमन्त्री को बन्ने भन्ने यही विवादका कारण अहिले कुन पार्टीको कति सिट भन्ने स्पष्ट तथ्यांक आइसक्दा पनि गठबन्धनले सरकार गठनको खाका भने तयार गर्न सकेको छैन । यसले गर्दा यदि केही गरी गठबन्धनले सरकार बनाइहाले पनि त्यो स्थायी नहुने र फेरि पनि देशमा राजनीतिक अस्थिरता सिर्जना हुने संकेत देखापरेको छ ।