यःमरीको स्वाद किन सबै नेपालीको भान्साबाट आउँदैन ?

 

सबैलाई मनपर्ने रोटी : यःमरी। कुनै बेला हामी कसैप्रति निर्भर थिएनौं। किसानी गरेर आफूलाई चाहेको जोहो गर्थ्यौं। अरुसँग माग्नुपर्ने अवस्था नै थिएन। यःमरी त्यही आत्मनिर्भताको आविष्कार हो।

प्राचीनकालमा काठमाडौं उपत्यका एउटा ठूलो दह थियो। मञ्जुश्रीले चोभार डाँडामा खड्ग प्रहार गरेरे पानीलाई निकास दिए पछि यहाँ मानव वस्तीको विकास भएको कथन छ। जतिबेला उपत्यका बस्नयोग्य बन्दै थियो, त्यही समय देखि यहाँ खेती किसानी सुरु भएको थियो। त्यही काठमाडौं उपत्यकाका कृषिप्रधान नेवार समुदायको सभ्यतामध्ये एक हो यःमरी।

कृषि कर्ममा भुलेको बेला उपत्यकामा पहिला रोटीका नाममा सुख्खा रोटी मात्रै बन्थ्यो। अहिले जस्तो विभिन्न प्रकारका रोटी थिएनन्। पछि आफैँसँग भएका खाद्यान्नको उपयोग गरी नेवारहरुले य:मरिको विकास गरे। त्यसबेला तिलको धुलो, चाकुको झोललाई मिसाएर लतू आकारको चामलको पिठोमा राखेर आधुनिक रोटीको विकास गरियो। यसरी नयाँ प्रकारको रोटी बनाउँदा सबैलाई मिठो लागेको र सबैलाई मनपर्ने भएकोले यसको नाम ‘यगु मरि’ हुँदै हाल ‘यःमरी’ रहन गयो।

रैथाने परिकार बनाउन त्यो बेला रैथाने चुल्होकै सहारा चाहिन्थ्यो। फोसी, पोटासी, भेगको प्रयोग गरेर आगोमै य:मरि बनाइन्थ्यो।

अहिले समय बढ्लिएको छ। बढ्लिँदैछ यःमरी बनाउने र खाने ‘ट्रेन्ड’ पनि।

पाटन दरबार क्षेत्र नजिकै रहेको नन्दनी फुड कोर्टमा नेवारी खाजा खानेको भिड हुन्छ। त्यहाँ पुग्ने धेरैको रोजाइमा पर्छ यःमरी बन्छ। बिहान देखि रातिसम्म य:मरिको माग धान्नुपर्छ उनीहरुलाई। यता, वसन्तपुर र भक्तपुरमा पनि अहिले हरेक दिन यःमरी बन्छ। होटल, रेष्टुराँहरुले यःमरीलाई प्राथमिकतामा रहेका प्रचारप्रसार गरिरहेका छन्। सुपर मार्केटमा त ‘रेडिमेड यःमरी’ नै पाइन्छ। य:मरि बिस्तारै व्यवसायिक बन्दै गर्दा यसको बजार कसरी बढाउन सकिन्छ भनेर पनि अहिले खोजी भइरहेको छ।

वर्षको एक दिन र कुनै पर्वको बेलामात्रै बन्ने य:मरि अहिले १२ महिना पाक्न थालेको छ। रेष्टुराँदेखि क्याफेसम्म य:मरि बन्न थालेका छन्। काठमाडौं उपत्यकामा रहेका गैर नेवारबिच पनि यःमरी त्यति नै प्रख्यात छ। य:मरि पुन्ही आउनु भन्दा एक महिना अघि देखि नै गरै नेवार साथीहरुले आफ्ना नेवार साथीहरुलाई यःमरीको माग गरिरहेका हुन्छन्। तर, सबैलाई मनपर्ने यःमरी बनाउन उनीहरु किन प्रयास गर्दैनन्?

अहिले गर्वका साथ घरमा पिज्जा, बर्गर बनाउन सक्नेहरुले किन य:मरिका लागि नेवार साथीहरुलाई मात्रै खोजिरहन्छन्। के यःमरी हामी सबै नेपालीको परिकार होइन ? जबसम्म हामी य:मरिको स्वाद आफ्नै भान्सामा पकाउँदैनौं, य:मरिलाई नेपाली खाना हो भनेर लिँदैनौ। तबसम्म हामी ‘डिभाइड एन्ड रुल’ गरिरहेका हुनेछौं हाम्रै रैथाने परिकार माथि।

सन्तोष साहले मास्टर सेफमा ‘स्विट डिस’का रुपमा य:मरिलाई पस्किएपछि सारा नेपालीले गर्व गरे। र, हामीमा विश्वास जाग्यो हामी आफैले हाम्रो खानालाई परिचय दिन सक्छौं। नेपाली परिकारलाई पनि अन्तर्राष्ट्रियस्तरमा हामी देखाउन र खुवाउन सक्छौं भनेर प्रमाणित भयो।

हाल १२ महिना य:मरी बनाउन थालिए पनि यःमरीले शरीरलाई तातो बनाउने हुँदा यसको उपयोगिता चिसो महिनामा बढी हुन्छ। गर्मी महिनामा तातोतातो य:मरि धेरै खाए त्यसले स्वास्थ्यमा असर पार्न सक्छ। तर समय र समाज दुवै परिवर्तन भइसकेको छ। प्राय चाकु, तिल र खुवाको य:मरी बनाइने भएता पनि हाल भने मासु, मास लगायत अन्य पदार्थ राखेर य:मरी बनाउने गरिएको छ।

य:मरि पुन्हिका दिन रेष्टुराँहरुमा भ्याइनभ्याइ हुन्छ यःमरी किन्नेहरुको। तर ‘ब्रान्ड’ यो परिकार सबै नेपालीको घरघरमा पुग्न सकेको छैन।

कारण के हो त? के यो नेवारको मात्रै परिकार हो र उसले मात्रै बनाउन सक्ने, पकाउन सक्ने?  नभए वर्षको एक दिनको उच्च हुने यसको बारे किन अघि पछि सोधखोज हुन्न ? यःमरीको स्वाद किन सबै नेपालीको भान्साबाट आउँदैन ?

अहिले हाम्रो भान्सा मोडुलर किचनमा परिणत भइसक्यो। हाम्रो रैथाने मसलालाई आयातित मसलाले विस्थापित भइसक्यो। हामी इन्ट्यान्ट डिसको खोजीमा छौं। चाँडै पाक्ने धेरै मिहिनेत गर्न नपर्ने, अनि फास्ट फुड बनाउनुको सट्टा किन घण्टौं लगाएर यःमरी बनाउने?

हामीले यःमरीको स्वाद र गुणलाई कायम राख्दै त्यसको विस्तार गर्न सक्यौं भने त्यसको तारिफ हुनेछ विश्वभरबाट।

लेखक : एस आर छिप्पा