दोषीलाई उन्मुक्तिको अध्यादेशसँगै छोरा गुमाएका प्रेमसिंहको बेचैन–‘अपराधिलाई छाडिदेउ, हामीलाई जेल हाल’

दीपेन्द्र श्रेष्ठ

काठमाडौं, २७ मंसिर । २०७२ साल भदौ ७ गते कैलाली जिल्लाको टिकापुरमा एक नाबालक र ८ सुरक्षाकर्मीको ज्यान जानेगरी बर्बरपूर्ण घटना भएको थियो । बर्बरपूर्ण घटनाको आठ वर्ष भएको छ । त्यो हत्याकाण्डमा मृत्यु भएकाहरुका आफन्त अहिले ती पीडादायक दिन बिर्सिन खोज्दा पनि मानसपटलबाट विस्मृत गराउन सकिरहेका छैनन् । त्यहि हत्याकाण्डका प्रमुख दोषी रेशम चौधरी अहिले जेलमा छन् ।

थारुहट राज्यको माग गर्दै गरिएको त्यो आन्दोलनका क्रममा तत्कालिन सेती अञ्चल प्रहरी कार्यालयका प्रमखु प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने सहितका ८ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो । बन्चरो, तरवार, लाठी, पेट्रोल, घरेलु हातहातहतियारसहित आएका आन्दोलनकारीले त्यतिबेला प्रहरीलाई घरोबन्दीमा पारी छापामार शैलीमा चारैतिरबाट घेराहाली निर्मम तरिकाले हत्या गरेका थिए ।

बन्चरो, तरवार, लाठी, पेट्रोल, घरेलु हातहातहतियारसहित आएका आन्दोलनकारीले त्यतिबेला प्रहरीलाई घरोबन्दीमा पारी छापामार शैलीमा चारैतिरबाट घेराहाली निर्मम तरिकाले हत्या गरेका थिए

त्यहि बर्बरपूर्ण त्रासदीमा तत्कालिन प्रहरी निरीक्षक केशव बोहराको पनि हत्या भएको थियो । बर्बरपूर्ण हत्याकाण्डको ८ वर्षपछि अहिले त्यहि हत्याकाण्डका दोषीलाई उन्मुक्ति दिने गरी शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले आध्यादेश ल्याएको छ । सत्तारोहण प्राप्तिका लागि अपराधिलाई उन्मुक्ति दिने गलत मनसायले मुलुकी फौजदारी संहिता २०७४ मा संशोधनका लागि अध्यादेश जारी गर्ने निर्णयपछि हत्या भएका आफन्त थप विचलित बनेका छन् । गैर संवैधानिक, गैर कानुनी र शासनमाथिको ठाडो प्रहार गर्दै देउवा सरकारले अध्यादेश ल्याएपछि त्यहि त्रासदीमा आफ्नो जेठो छोरा गुमाउनु भएका प्रेमसिंह बोहोरामा बेचैनी छाएको छ ।

हत्याकाण्डका प्रमुख दोषीलाई उन्मुक्ति दिन अहिलेको कामचलाउ सरकारले ल्याएको अध्यादेशबारे प्रेमसिंहसँग जानकारी लिन मैत्रीन्युजले टेलिफोन सम्पर्क गर्दा उहाँ कैलालीमै हुनुहुँदो रहेछ । महाकाली माध्यामिक विद्यालय एवं महाकाली बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख समेत रहनु भएका प्रेमसिंहसँग टेलिफोन सम्वाद गर्दा उहाँ धेरै पटक भावुक बन्नुभयो । ‘टिकापुर हत्याकाण्डमा मैले मेरो जेठो छोरा मात्रै गुमाइन, मैले मेरो सारा खुशी पनि छोराको मृत शरीरसँगै गुमाए,’ प्रेमसिंहले भावुक हुँदै भन्नुभयो, ‘मेरो छोराको हत्या हुँदाका नावालक र निर्दोष दुई नातीहरु अहिले विस्तारै हुर्किदैँ गएका छन् । उनीहरुका ती कोमल अनुहारमा म छोरा केशवलाई देख्छु र भावुक हुन्छु । जबजब ती बर्बर दिनहरु सम्झिन्छु तबतब मेरो मुटु चुडिँएको अनुभूति हुन्छ ।’

‘टिकापुर हत्याकाण्डमा मैले मेरो जेठो छोरा मात्रै गुमाइन, मैले मेरो सारा खुशी पनि छोराको मृत शरीरसँगै गुमाए,’ प्रेमसिंहले भाबुक हुँदै भन्नुभयो, ‘मेरो छोराको हत्या हुँदाका नावालक र निर्दोष दुई नातीहरु अहिले विस्तारै हुर्किदैँ गएका छन् । उनीहरुका ती कोमल अनुहारमा म छोरा केशवलाई देख्छु र भावुक हुन्छु । जबजब ती बर्बर दिनहरु सम्झिन्छु तबतब मेरो मुटु चुडिँएको अनुभूति हुन्छ ।’

उहाँले छोरा केशवको सम्झनामा धेरै पटक मुटु चुडिँएको वियोगान्त कथा सुनाउनुभयो । ‘जेठो नाती सार्थक अहिले अध्ययनका लागि क्यानडा गएको छ, कान्छो सुभम अहिले स्वदेशमै छ । यी दुबै नातीहरुले पिताको सम्झना गर्दा विचलित हुन्छु ।’ उहाँले करीब २० मिनेटको सम्वादमा चोरढोकाबाट अपराधीलाई उन्मुक्ति दिने प्रयास भैरहेको भन्दै पटक–पटक यो खेदजनक कार्य भएको बताउनुभयो । ‘मेरो र परिवारका तर्फबाट देउवाजीलाई चूनौती छ– रेशम चौधरीहरु निर्दोष हुन भने उनीहरुले हत्या गरेका व्यक्ति र परिवार अपराधी हुन त ?,’ उहाँले चुनौतीको भाषामा भन्नुभयो, ‘त्यसो हो भने चौधरीहरुलाई जेलबाट निकालेर हामीलाई जेल हाल्नुहोस् । हामीले पटक–पटक घटनाका दोषीमाथि कारबाही हुनुपर्छ भन्दै आइरहेका छौँ र अहिले पनि हाम्रो भनाई यहि हो ।’

उहाँले आक्रोशित हुँदै थप पीडा यसरी पोख्नुभयो– ‘हामीले मार्न त मारेकै हो, माओवादीले पनि मार्यो, पहिला कांग्रेस, मालेहरुले पनि मारे भनेर यसलाई राजनीतिक मुद्धासँग जोडेर उन्मुक्ति दिने कुरा हत्या भएका हामी जस्ता परिवारमाथि गरेको अपराध हो । यस्तो अपराधमा हामी दुःख व्यक्त गर्न बाहेक के गर्न सक्छौँ ?’ उहाँले कुराकानीकै सन्दर्भमा घटना हुँदाको क्षणहरुको पनि स्मरण गराउनुभयो ।

‘हामीले मार्न त मारेकै हो, माओवादीले पनि मार्यो, पहिला कांग्रेस, मालेहरुले पनि मारे भनेर यसलाई राजनीतिक मुद्धासँग जोडेर उन्मुक्ति दिने कुरा हत्या भएका हामी जस्ता परिवारमाथि गरेको अपराध हो । यस्तो अपराधमा हामी दुःख व्यक्त गर्न बाहेक के गर्न सक्छौँ ?’

‘हत्याकाण्डको केही दिन अघि मात्रै राजेन्द्र महतोलगायतका नेताहरु टिकापुरमा आएर थारुहट आन्दोलनलाई उत्तेजित पार्ने गरी अभिव्यक्ति दिएका थिए,’ ती दिनको सम्झना गर्दै उहाँले भन्नुभयो, ‘त्यो बेला मधेस आन्दोलन कमजोर भएको थियो । त्यहिबेला उनीहरुले थारुहट आन्दोनलाई उठाउन सुरक्षाकर्मीहरुमाथि प्रहार गर्ने योजना नै बनाएका थिए भन्ने जानकारी केही अनुसन्धानकर्ताबाट हामीलाई प्राप्त भएको थियो । बन्चरो, तरवार, लाठी, पेट्रोल, घरेलु हातहतियारसहित आएका आन्दोलनकारीले त्यतिबेला प्रहरीलाई घरोबन्दी पारी छापामार शैलीमा चारैतिरबाट घेराहाली निर्मम तरिकाले हत्या गरेका थिए ।’

उहाँले त्यहि बर्बरपूर्ण हत्याकाण्डमा आफूले जेठो छोरा केशवलाई गुमाउन पुगेँको बताउनुभयो । ‘त्यहि दिनबाट मेरा दुई नाती मात्रै टुहुरा भएनन् मेरी बुहारी शारदा कडायत बोहराको पनि त्यही दिनबाट सिउँदो पुछियो,’ गला अबरुद्ध बनाउँदै उहाँले भन्नुभयो, ‘तत्कालिन न्यायाधीश पर्शुराम भट्टराईको ईजलासले कैलाली जिल्ला अदालतबाट रेशम चौधरीसहित मुद्दालाई हत्याकाण्डमा दोषी ठहर गर्दै कैदको फैसला गरेका मध्ये अहिले पनि मलाई जानकारी भए अनुसार केही जेलमा छन् । यो हत्याकाण्ड भएको ८ वर्ष भैसक्यो अझै पनि दोषी ठहर भएकाहरु धेरै स्वतन्त्र रुपमा घुमिरहेका छन् र खुलेआम चुनाव पनि लडिरहेका छन् । यो भन्दा अराजक अवस्था के हुनसक्छ ।’

‘त्यहि दिनबाट मेरा दुई नाती मात्रै टुहुरा भएनन् मेरी बुहारी शारदा कडायत बोहराको पनि त्यही दिनबाट सिउँदो पुछियो,’ गला अबरुद्ध बनाउँदै उहाँले भन्नुभयो

उहाँले राजनीतिक दलका नेतासँग भन्दा पनि आफूहरुलाई सञ्चारमाध्याम र मानवअधिकारवादीहरुबाट न्याय होला भन्ने आशा र विश्वास रहेको बताउनुभयो । नेपाली कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले अध्यादेशको विरोध गरेको पनि उहाँलाई जानकारी रहेछ । ‘अहिले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले अपराधिलाई छुटाउने गरी ल्याएको अध्यादेशको विरोध गरेको भन्ने सुनेको छु,’ उहाँले भन्नुभयो, ‘म उहाँहरुलाई पहिलादेखि नै राम्ररी चिन्छु । उहाँहरुको यो आवाज अझै बलियो बनाउनुहोस् र अपराधिलाई छुट्ने अध्यादेश खारेजी गर्ने वातावरण निर्माण गर्न सक्नुहोस् भन्न चाहन्छु ।’

‘अहिले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले अपराधिलाई छुटाउने गरी ल्याएको अध्यादेशको विरोध गरेको भन्ने सुनेको छु,’ उहाँले भन्नुभयो, ‘म उहाँहरुलाई पहिलादेखि नै राम्ररी चिन्छु । उहाँहरुको यो आवाज अझै बलियो बनाउनुहोस् र अपराधिलाई छुट्ने अध्यादेश खारेजी गर्ने वातावरण निर्माण गर्न सक्नुहोस् भन्न चाहन्छु ।’

उहाँले कुराकानीकै सन्दर्भमा आफू अहिले ७५ वर्षको भएको भन्दै कुनै बेला कांग्रेसको कार्यकर्ता भएको पनि स्मरण गराउनुभयो । त्यति मात्रै होइन देउवाको अंगरक्षक भएर १०–१२ वर्ष आफ्नो छोरा केशवले देउवालाई सुरक्षा दिएको भन्दै अहिले आफ्नो सत्तारोहण प्राप्तिका लागि गर्न खोजेको अपराधपूर्ण र अमानवीय कार्यको विरोध समेत गर्नुभयो ।

‘म शिक्षक संघको केन्द्रीय उपाध्यक्ष र ट्रेड युनियन कंग्रेसको पनि म केन्द्रीय उपाध्यक्ष भैसकेको व्यक्ति हुँ,’ उहाँले भन्नुभयो, ‘म ०४८ सालदेखि ०७० सालसम्म खुला कांग्रेस भएर काम गरेको व्यक्ति पनि हुँ । म कांग्रेस सभापति एवं वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई यहि सञ्चारमाध्ययमबाट स्मरण गराउन चाहन्छु । मेरो छोरा केशव १०–१२ वर्ष तपाईँको पिएसओ भएर सेवा गरेको थियो । अहिले तपाईँ देशको प्रधानमन्त्री हुनुहुन्छ । तपाईँ प्रधानमन्त्री भएका बेला जसरी तपाईँले तपाईँकै अंगरक्षक भएर सेवा गरेको सुरक्षाकर्मीलगायतको हत्या गर्ने हत्याराहरुलाई आफ्नो सत्तारोहण प्राप्तिका लागि जनादेशको पनि अपमान गर्दै उन्मुक्ति दिने प्रयास गर्दै हुनुहुन्छ । यो तपाईँले बर्बरपूर्ण हत्याको त्रासदीमा बाँचिरहेका हामी परिवार र आफन्तमाथि मात्रै होइन देश, राष्ट्र, राष्ट्रियतामाथि बलात् आक्रमण पनि गरिरहनु भएको हो ।’

उहाँले देउवालाई अलिकति पनि मानवीय समवेदना र सहानुभूति छ भने आफ्नो सत्तारोहण प्राप्तिका लागि यस्तो अपराधिकरण कार्य गरेर यो उमेरमा आफूलाई अमानवीय रुपमा दर्ज नगराउन सुझाव दिनुभयो । ‘तपाईँ उमेरमा म भन्दा केही जेठो हुनुहुन्छ । तपाईँलाई इतिहासले धिक्कार्ने काम नगर्नुहोस् भन्ने सुझाव पनि दिन चाहन्छु,’ उहाँले भन्नुभयो, ‘तपाईँले परिवार गुमाएको पीडामा बाँचिरहेका हामीहरुमाथि थप अन्याय गर्नुभयो भने म बृद्ध पिताका तर्फबाट तपाईँलाई श्राप दिनेछु– तपाईँलाई इतिहासले पनि माफी गर्ने छैन ।’