जलवायु कार्यमा काठमाडौँ महानगरको नयाँ पहल, सुनिता डङ्गोलको नेतृत्वमा सातदिने कार्यक्रम
काठमाडौँ, ६ मङ्सिर । काठमाडौँ महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका लागि स्थानीयस्तरमै ठोस काम अघि बढाउने उद्देश्यले सोमबारदेखि ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ आयोजना गर्ने भएको छ। कार्यवाहक प्रमुख सुनिता डङ्गोलको नेतृत्वमा आयोजना हुन लागेको सप्ताहलाई महानगरले जलवायु परिवर्तनका विषयमा छलफल गर्नेभन्दा पनि प्रत्यक्ष कार्यान्वयनमा केन्द्रित अभियानका रूपमा अघि बढाएको छ।
कार्यवाहक प्रमुख डङ्गोलले जलवायु परिवर्तनलाई महानगरको प्राथमिकतासँग जोड्दै पानी, ऊर्जा, फोहरमैला, पूर्वाधार, सम्पदा, बालबालिका तथा युवा सहभागितासम्मका विषयलाई एउटै अभियानमा समेट्नुभएको छ। उहाँकै पहलमा भूमिगत जल पुनःभरण, स्वच्छ ऊर्जा, विद्युतीय सवारीसाधन, बायोग्यास, विद्यालयस्तरीय जलवायु अभियान तथा बालबालिकालाई जलवायु सद्भावना दूत बनाउने कार्यक्रम अघि बढाइने भएको हो।
डङ्गोलले जलवायु परिवर्तनको प्रभाव नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले अब योजनामै सीमित नरही तत्काल काम सुरु गर्नुपर्ने बताउनुभएको छ।
“जलवायु परिवर्तनको प्रभावबारे हामी सबै भुक्तभोगी छौँ। हामीले फेर्ने श्वासदेखि पिउने पानी र बस्ने सहरसम्म जलवायु परिवर्तनबाट प्रभावित छन्,” उहाँले भन्नुभयो, “अब गरौँला–हेरौँला भनेर बस्ने समय छैन। त्यसैले काममै केन्द्रित भएर जलवायु कार्य सप्ताह आयोजना गर्न लागेका हौँ।”
डङ्गोलको नेतृत्वमा महानगरले जलवायु कार्यलाई बहुआयामिक रूपमा अघि बढाउने तयारी गरेको छ। पहिलो दिन विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षसँग जलवायु परिवर्तनका प्रभाव र न्यूनीकरणका प्रयासबारे अनुभव आदानप्रदान गरिनेछ। सोही दिन राष्ट्रिय सभागृहबाट ‘रिचार्ज काठमाडौँ अभियान’ सुरु गरिनेछ।
महानगर क्षेत्रका विद्यालयमा भूमिगत जल पुनःभरण गर्न सकिने सम्भावित स्थानको अध्ययनसमेत गरिएको छ। पानीको बढ्दो संकट र भूमिगत जलको घट्दो अवस्थालाई सम्बोधन गर्न डङ्गोलले जल पुनःभरणलाई महानगरको जलवायु अनुकूलनसँग जोड्नुभएको छ।
दोस्रो दिन जलवायु वित्तका विषयमा विज्ञहरूसँग छलफल हुनेछ। जलवायु अनुकूलन तथा उत्थानशील पूर्वाधारका लागि अन्तरराष्ट्रिय जलवायु कोष, हरित नगर ऋणपत्र, सरकारी स्रोत तथा निजी क्षेत्रको लगानी परिचालनबारे विमर्श गरिनेछ।
तेस्रो दिन ‘नागरिक विज्ञान, सम्पदा र जलवायु परिवर्तनका असर’ विषयमा कार्यक्रम सञ्चालन हुनेछ। परम्परागत हिटी प्रणालीको संरक्षण, ऐतिहासिक सम्पदा क्षेत्रको पदयात्रा, भूमिगत जल पुनःभरण, पानीको गुणस्तर परीक्षण तथा सम्पदा संरक्षणमा सामुदायिक ज्ञानको भूमिकालाई कार्यक्रममा जोड दिइनेछ।
चौथो दिन स्वच्छ ऊर्जा, विद्युतीय सवारीसाधन, ऊर्जा भण्डारण तथा फोहरमैला व्यवस्थापनलाई जलवायु कार्यसँग जोडिनेछ। सोही दिन टेकुस्थित बायोग्यास प्लान्टको उद्घाटन तथा सफा टेम्पो र विद्युतीय सवारीसाधनको प्रयोग प्रवर्द्धनसम्बन्धी कार्यक्रम गरिनेछ।
जलवायु अभियानमा बालबालिका र युवालाई प्रत्यक्ष सहभागी गराउनु डङ्गोलको अर्को महत्वपूर्ण पहलका रूपमा अघि सारिएको छ। पाँचौँ दिनलाई ‘बालबालिका तथा युवा जलवायु कार्य दिवस’का रूपमा मनाइनेछ। ५० भन्दा बढी विद्यालयमा एकैसाथ फोहर वर्गीकरण, वातावरणीय अवस्था पहिचान, जलवायु खेल, वृक्षरोपण योजना तथा सिर्जनात्मक सचेतना कार्यक्रम सञ्चालन गरिनेछ।
विद्यार्थीले विकास गरेका नवीन प्रविधि, हरित आविष्कार तथा इको क्लबका गतिविधिसमेत प्रदर्शन गरिनेछन्। जलवायु परिवर्तनका घटना र भविष्यमा पर्न सक्ने जोखिमबारे बालबालिकालाई सचेत तथा सक्रिय बनाउन ‘जलवायुका लागि बालबालिका’ भिडियो प्रतियोगितासमेत आयोजना गरिएको छ।
प्रतियोगितामा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थी सहभागी हुन सक्नेछन्। प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु ३० हजार र तृतीयलाई रु २० हजार पुरस्कार प्रदान गरिनेछ। सात जनालाई जनही रु १० हजारका दरले सान्त्वना पुरस्कार दिइनेछ।
प्रतियोगितामा उत्कृष्ट हुने १० जनालाई ‘काठमाडौँ महानगरपालिकाका लागि जलवायु परिवर्तन सद्भावना दूत’ घोषणा गरिनेछ। उनीहरूलाई वर्षभरि जलवायु संरक्षणसम्बन्धी सिर्जनात्मक गतिविधिमा सहभागी गराउने तयारी गरिएको छ। यसबाट डङ्गोलले जलवायु अभियानलाई विद्यालय र बालबालिकाको दैनिक व्यवहारसँग जोड्ने प्रयास गर्नुभएको देखिन्छ।
छैटौँ दिन ‘खाद्य प्रणाली र जलवायु परिवर्तन’ तथा सातौँ दिन जलवायु परिवर्तनका असर न्यूनीकरणमा नागरिक समाज, गैरसरकारी संस्था र अन्तरसरकारी संस्थाको भूमिकाबारे कार्यक्रम सञ्चालन हुनेछ।
डङ्गोलले जलवायु परिवर्तनलाई केवल वातावरणीय विषयका रूपमा सीमित नराखी पानी, ऊर्जा, यातायात, फोहरमैला, सम्पदा, शिक्षा र नागरिक सहभागितासँग जोडेर महानगरको विकास नीतिको हिस्सा बनाउने प्रयास गर्नुभएको महानगरपालिकाले जनाएको छ।
महानगरका अनुसार कार्यवाहक प्रमुख डङ्गोलको पहलमा आयोजना हुन लागेको सप्ताहको मुख्य विशेषता छलफलपछि कार्यान्वयनमा जाने कार्यक्रमहरू हुन्। ‘रिचार्ज काठमाडौँ’ अभियानदेखि बायोग्यास प्लान्ट, विद्युतीय सवारीसाधन प्रवर्द्धन, विद्यालयस्तरीय जलवायु गतिविधि र बालबालिकालाई सद्भावना दूत बनाउनेसम्मका कार्यक्रमले जलवायु कार्यलाई नागरिकको दैनिक जीवनसँग जोड्ने लक्ष्य राखेका छन्।
हालै काठमाडौँ फिल्म फेस्टिभल सम्पन्न गरेको महानगरपालिकाले त्यसलगत्तै जलवायु कार्य सप्ताह आयोजना गर्न लागेको हो। डङ्गोलको नेतृत्वमा अघि बढाइएको यो अभियानले काठमाडौँलाई जलवायु उत्थानशील सहर बनाउने महानगरको दीर्घकालीन प्रयासलाई व्यवहारिक कार्यक्रमसँग जोड्ने अपेक्षा गरिएको छ।
