सात तालको लयमा पुस्तौँदेखि गुञ्जिँदै अर्घाखाँचीको भैरव नाच
भैरव नाच
काठमाडौँ, कार्तिक २३ । परम्परागत बाजाको गुञ्जनसँगै काल भैरव, श्वेत भैरव र रक्त भैरवका विशिष्ट स्वरूप देखिन्छन् । आकर्षक भेषभूषामा सजिएका कलाकार सातवटा फरक तालमा लयबद्ध रूपमा नाच्न थाल्छन् । दर्शकको भीड बढ्दै जान्छ, वातावरण भक्तिमय बन्छ । यो कुनै सामान्य सांस्कृतिक मनोरञ्जनको प्रस्तुति होइन, पुस्तौँदेखि अर्घाखाँचीको नेवार समुदायले संरक्षण गर्दै आएको मौलिक भैरव नाच हो ।
धार्मिक आस्था, सांस्कृतिक पहिचान र परम्परागत अनुशासनको अनुपम सङ्गम मानिने भैरव नाच अर्घाखाँचीको सांस्कृतिक सम्पदाका रूपमा स्थापित छ । यसको विशेषता नाचका चाल र बाजाको धुनमा मात्र सीमित छैन । यसमा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक विधि, तान्त्रिक विश्वास, सात तालको ज्ञान, भेषभूषा र सामुदायिक सहकार्यसमेत जोडिएका छन् । तर बदलिँदो जीवनशैली र नयाँ पुस्ताको घट्दो आकर्षणका बीच यो परम्परा कसरी जीवन्त राख्ने भन्ने प्रश्न अहिले महत्वपूर्ण बन्दै गएको छ ।
धार्मिक आस्था, तान्त्रिक विधि र नेवार समुदायको सांस्कृतिक पहिचान बोकेको मौलिक नाच संरक्षणको पर्खाइमा, नयाँ पुस्तामा सीप र परम्परा हस्तान्तरण मुख्य चुनौती
अर्घाखाँचीमा सन्धिखर्क नगरपालिका–१ को पटुवाथुम, वडा नं १२ को डिभर्ना तथा भूमिकास्थान नगरपालिका–८ को नुवाकोट र लात्तेबाँजमा बसोबास गर्ने नेवार समुदायले भैरव नाचलाई साझा सांस्कृतिक पहिचानका रूपमा जोगाउँदै आएका छन् । यी बस्तीमा फरकफरक वर्षमा नाच प्रदर्शन गर्ने परम्परा छ । यस वर्ष भूमिकास्थान–८ को नुवाकोट भैरव समाजले नाच प्रदर्शन गरेको छ । नेवा समाज अर्घाखाँची–रुपन्देहीले बुटवलमा समेत यसको प्रस्तुति दिएको छ । सन्धिखर्कलगायत जिल्लाका विभिन्न स्थानमा पनि नाच प्रदर्शन हुँदै आएको छ ।
भैरव नाचको आफ्नै धार्मिक समयसीमा र विधि छ । स्थानीय परम्पराअनुसार श्रीकृष्ण जन्माष्टमीदेखि सुरु हुने यो नाच कात्तिक औँसीसम्म प्रदर्शन गरिन्छ । अर्घाखाँची भैरव नाच संरक्षण समितिका संयोजक राजकुमार श्रेष्ठका अनुसार देउसी–भैलोको मादल बज्नुअघि नै भैरव नाच विसर्जन गरिसक्नुपर्ने मान्यता छ । त्यसैले यसको सुरुआतदेखि समापनसम्म धार्मिक अनुशासन र परम्परागत विधि पालना गरिन्छ ।
नाचमा काल भैरव मुख्य पात्रका रूपमा रहन्छन् भने श्वेत भैरव र रक्त भैरव सहायक पात्र हुन्छन् । उनीहरूसँगै डंकिनी अर्थात् नर्तकीको भूमिका पनि महत्वपूर्ण हुन्छ । पात्रअनुसार फरक रङ, शृङ्गार र पहिरन प्रयोग गरिन्छ । भैरवको स्वरूप धारण गर्ने कलाकारलाई परम्पराअनुसार ख्वापः अर्थात् खप्पर, विशेष कपडा, माला र चमरले सजाइन्छ । चमरका रूपमा चौँरी गाईको पुच्छर प्रयोग गर्ने चलनसमेत छ ।
नाच सुरु गर्नुअघि तान्त्रिक विधिअनुसार पूजा गरिन्छ । भैरवको स्वरूपमा सजिएका कलाकारलाई भगवान्को प्रतीक मानेर पूजा गर्ने परम्परा रहेको संयोजक श्रेष्ठ बताउनुहुन्छ । समयक्रममा शृङ्गारका सामग्रीमा केही परिवर्तन र नयाँ सामग्रीको प्रयोग भए पनि पात्रको मौलिक स्वरूप, धार्मिक मान्यता र विधि जोगाउनुपर्नेमा समुदाय सचेत रहेको उहाँको भनाइ छ ।
भैरव नाचको सबैभन्दा विशिष्ट पक्ष सात तालको लय हो । सातवटै तालको गति, चाल र प्रस्तुति फरक हुन्छ । अर्घाखाँची उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष काजी श्रेष्ठका अनुसार एउटा ताल करिब १० मिनेटसम्म चल्ने गर्छ । त्यसपछि केही समय विश्राम लिएर अर्को ताल सुरु गरिन्छ । नर्तकको चाल र वाद्यवादकको लयबीचको तालमेलले प्रस्तुतिलाई जीवन्त बनाउँछ । प्रत्येक तालको विशिष्टता र त्यसलाई प्रस्तुत गर्ने सीप पुस्तौँदेखि अभ्यासका माध्यमबाट हस्तान्तरण हुँदै आएको छ ।
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठका अनुसार भैरव नाचमा खीं बाजा अर्थात् मिर्दुङ मुख्य बाजाका रूपमा प्रयोग गरिन्छ । यसका अतिरिक्त झुर्मा अर्थात् झ्याली, सहनाई र धंकुरीलगायतका बाजा बजाइन्छन् । यी बाजाको धुनसँगै नर्तकको चाल मिल्दा नाचको मौलिकता झल्किन्छ । मुख्य बाजा बजाउने व्यक्ति नेवार समुदायका हुने परम्परा भए पनि सहायक वाद्यवादकका रूपमा अन्य समुदायका व्यक्तिसमेत सहभागी हुने गरेका छन् । यसले भैरव नाचलाई एउटा समुदायको सांस्कृतिक अभ्यासमा मात्र सीमित नराखी सामुदायिक सहकार्यको माध्यमसमेत बनाएको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।
यस नाचमा धार्मिक तथा तान्त्रिक विधिलाई विशेष महत्त्व दिइन्छ । स्थानीय जनविश्वासअनुसार पाँचौँ र छैटौँ तालका क्रममा तान्त्रिक विद्यामा निपुण व्यक्तिमा भैरव उत्रिने गर्छन् । यस्तो अवस्थामा नर्तकसँगै दर्शकसमेत काम्ने गरेको विश्वास समुदायमा छ । पूजा र विधिमा त्रुटि भए अनिष्ट हुन सक्ने मान्यताका कारण नाचको तयारीदेखि विसर्जनसम्म विशेष सावधानी अपनाइन्छ । यस्ता धार्मिक विश्वास र अनुशासनले भैरव नाचलाई अन्य मनोरञ्जनात्मक प्रस्तुतिभन्दा फरक बनाएको छ ।
भैरव नाचको आकर्षण धार्मिक प्रस्तुतिमा मात्र सीमित छैन । यससँगै लाठी नाच अर्थात् टाकुनडोली, घोडा नाच, चरा नाच र लाहुरे–लाहुरेनी नाचजस्ता सांस्कृतिक प्रस्तुति पनि समावेश गरिन्छन् । यस्ता प्रस्तुतिले स्थानीय कलाकारलाई आफ्नो कला देखाउने अवसर दिनुका साथै समुदायमा प्रचलित अन्य परम्परागत नृत्य र सीपको संरक्षणमा समेत सहयोग पुर्याएका छन् ।
सन्धिखर्क नगरपालिका–१ का माधव श्रेष्ठका अनुसार भैरव नाच नेवार समुदायको ऐतिहासिक परम्परा भए पनि यसको लोकप्रियता समुदायको सीमाभन्दा बाहिर फैलिएको छ । सन्धिखर्कको टुँडिखेलमा आयोजना हुने नाच अवलोकन गर्न हजारौँ दर्शक उपस्थित हुने गरेका छन् । नेवार समुदायका अतिरिक्त अन्य समुदायका मानिसको समेत उल्लेख्य सहभागिता रहने गरेको उहाँ बताउनुहुन्छ । यसले स्थानीय सांस्कृतिक परम्पराप्रति समुदायबीचको साझा चासो र सद्भावलाई अभिव्यक्त गरेको छ ।
अर्घाखाँचीको भैरव नाचको प्रभाव जिल्लाबाहिर पनि विस्तार हुँदै गएको छ । गुल्मी, प्युठान, पाल्पा, कपिलवस्तु र रुपन्देहीमा समेत यसको लोकप्रियता रहेको संरक्षण समितिका संयोजक श्रेष्ठ बताउनुहुन्छ । पश्चिम नेपालका पाल्पा, बागलुङ र दैलेखलगायत जिल्लामा पनि भैरवसँग सम्बन्धित विभिन्न परम्परागत नाच प्रचलनमा छन् । स्थानअनुसार तिनको शैली र प्रस्तुतिमा भिन्नता पाइन्छ । कतिपय स्थानमा कालिका नाच वा लाखे नाचका रूपमा चिनिने यस्ता परम्पराले पश्चिम नेपालको सांस्कृतिक विविधता झल्काउँछन् ।
रोजगारी, व्यापार र अध्ययनका सिलसिलामा जन्मथलोबाट टाढा पुगेका समुदायले पनि आफ्नो संस्कृति जोगाउन थालेका प्रयास उल्लेखनीय छन् । यस वर्ष बुटवलमा नेवा समाज अर्घाखाँची–रुपन्देहीले गरेको भैरव नाच प्रदर्शन त्यसैको उदाहरण हो । यस्ता कार्यक्रमले नयाँ पुस्तालाई पुर्खाको सांस्कृतिक इतिहाससँग परिचित गराउनुका साथै जन्मथलोबाहिर रहेका समुदायबीच सम्बन्ध र आत्मीयता कायम गर्न सहयोग पुर्याउँछन् ।
तर परम्परा जोगाउने जिम्मेवारी उत्सव र प्रदर्शनमा मात्र सीमित छैन । भैरव नाचका लागि आवश्यक धार्मिक विधि, सात तालको ज्ञान, बाजा बजाउने सीप, भेषभूषा तयार गर्ने कला र पात्रअनुसारको शृङ्गारबारे विशेष ज्ञान आवश्यक पर्छ । यीमध्ये धेरै सीप पुस्तौँदेखि ज्येष्ठ नागरिक र अनुभवी कलाकारबाट नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएका छन् । नयाँ पुस्ताको रुचि र सहभागिता कमजोर हुँदै गएमा यस्तो ज्ञान र सीप हराउने जोखिम छ ।
आधुनिक मनोरञ्जनका माध्यमको विस्तार, बदलिँदो जीवनशैली र रोजगारीका कारण युवापुस्ता जन्मथलोबाट टाढिने क्रमले परम्परागत सांस्कृतिक अभ्यासको निरन्तरतामा चुनौती थपेको छ । वर्षमा एकपटक नाच प्रदर्शन गरेर मात्र यसको संरक्षण सम्भव नहुने भएकाले नियमित अभ्यास, नयाँ कलाकार उत्पादन र परम्परागत सीप हस्तान्तरणलाई प्राथमिकता दिनुपर्ने देखिन्छ ।
समुदायका ज्येष्ठ नागरिक तथा अनुभवी कलाकारसँग रहेको ज्ञानलाई लिखित, श्रव्यदृश्य र डिजिटल माध्यमबाट अभिलेखीकरण गर्नु संरक्षणको महत्वपूर्ण उपाय हुन सक्छ । सातवटै तालको लय, बाजा बजाउने तरिका, धार्मिक विधि, भेषभूषा र नाचको ऐतिहासिक पृष्ठभूमि व्यवस्थित रूपमा अभिलेख राख्न सके भावी पुस्तालाई परम्परा बुझ्न र सिक्न सहज हुनेछ । विद्यालयस्तरमै स्थानीय संस्कृति र सम्पदाबारे जानकारी दिने, युवालाई अभ्यासमा सहभागी गराउने तथा स्थानीय तह र सांस्कृतिक संस्थाबीच सहकार्य बढाउने काम पनि उत्तिकै आवश्यक छ ।
भैरव नाचको संरक्षण सांस्कृतिक पहिचान जोगाउने विषय मात्र होइन, अर्घाखाँचीको पर्यटन र स्थानीय अर्थतन्त्रसँग जोड्न सकिने सम्भावना पनि हो । जिल्लाको प्राकृतिक सौन्दर्य, धार्मिकस्थल र ऐतिहासिक सम्पदासँगै मौलिक सांस्कृतिक प्रस्तुतिको प्रचारप्रसार गर्न सके सांस्कृतिक पर्यटन प्रवर्द्धनमा योगदान पुग्न सक्छ । तर पर्यटन आकर्षणका लागि मात्र यसको स्वरूप परिवर्तन नगरी धार्मिक आस्था, परम्परागत विधि र समुदायको मौलिक अधिकारलाई सम्मान गर्दै प्रवर्द्धन गर्नुपर्ने देखिन्छ ।
काल भैरव, श्वेत भैरव र रक्त भैरवका स्वरूप, सात तालको लय, परम्परागत बाजाको गुञ्जन र तान्त्रिक पूजाविधि भैरव नाचका विशिष्ट पहिचान हुन् । पुस्तौँदेखि समुदायले जोगाउँदै आएको यो सम्पदा अहिले विभिन्न समुदायको सहभागिता र समर्थनसमेत प्राप्त गर्दै अघि बढिरहेको छ । यसको निरन्तरताका लागि समुदायको अग्रसरतासँगै स्थानीय तह, सांस्कृतिक संस्था र नयाँ पुस्ताको सक्रिय भूमिका आवश्यक छ ।
भैरव नाचलाई जीवन्त राख्नु भनेको एउटा परम्परागत नाच जोगाउनु मात्र होइन, पुर्खाले हस्तान्तरण गरेको ज्ञान, सीप, धार्मिक आस्था र सामाजिक सद्भावलाई भावी पुस्तासम्म पुर्याउनु पनि हो । सात तालमा गुञ्जिने यो मौलिक संस्कृति आगामी पुस्ताले पनि आफ्नै आँखाले देख्न र अभ्यास गर्न पाउने वातावरण निर्माण गर्नु अहिलेको साझा दायित्व बनेको छ ।
