रेडक्रसले दीर्घरोगी र सुत्केरीलाई निःशुल्क रगत उपलब्ध गराउने

झापा,२८ मंसिर । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।

दमक नगरपालिका र रेडक्रसबीच सुत्केरी, पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको हो । रेडक्रसले ल्याब परीक्षण गरेबापत सेवा शुल्क रु नौ सय ५० लिने गरेको थियो । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका सभापति प्रकाश बुढाथोकीले सुत्केरी, नियमित रगत चढाउनुपर्ने र पाँच वर्षमुनिका बालबालिकाका लागि निःशुल्क उपलब्ध गराउने सहमति भएको जानकारी दिनुभयो । त्यसका लागि दमकमा स्थायी बसोबासको प्रमाण पेश गर्नुपर्ने छ ।

दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत शशी राई, दमक रेडक्रसका सभापति बुढाथोकी र पूर्वसभापति लिला गुरागाईंको उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो । दमक रेडक्रसले रक्तसञ्चार र सर्पदंश उपचार सेवा सञ्चालन गर्दैआएको छ ।