पोखरामा एटिभी राइडिङ अर्को नयाँ पर्यटकीय गन्तव्य बन्दै

कास्की ३ पुस । पोखरामा एटिभी राइडिङ सञ्चालनमा आएको छ । जिपलाइन, बञ्जीजम्प, स्वीङ लगायतका पर्यटकीय गतिविधि सञ्चालन गर्दै आएको पोखरामा हाइग्राउन्ड एडभेन्चर प्रालि नेपालले पर्यटकलाई लक्षित गरी हालै एटिभी राइडिङ सञ्चालनमा ल्याएको हाे ।

पर्यटकीय नगरी पोखरामा सुन्दर सहरको आनन्द लिनुका साथै पोखरा आउने पर्यटक यहाँका विभिन्न साहसिक पर्यटनका गतिविधि पनि रमाउने गर्दछन् ।

पोखराको सराङ्कोटबाट हावा खाँदै जिपलाइन, प्याराग्लाइडिङसँगै बन्जीजम्प, स्वीङ, अल्ट्रालाइटदेखि माउन्टेन फ्लाइटसम्मका विभिन्न गतिविधिले पोखरामा पर्यटकलाई लोभ्याउने गरेको छ ।

पोखराको यही साहसिक पर्यटन प्रतिको आकर्षणलाई दृष्टिगत गरी पर्यटन क्षेत्रका लगानीकर्ता पनि यसतर्फको लगानीमा हौसिएको देखिन्छ ।

कम्पनीले सुरु गरेको एटिभी राइडिङमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बढेको कम्पनीका निर्देशक दिनश महर्जनले बताउनुभयो । “पछिल्ला समयमा पोखरामा आउने पर्यटक यहाँ सञ्चालित जिपलाइन, स्वीङ, बञ्जी आदिमा आकर्षित बन्दै गएका छन्”, उहाँले भन्नुभयो ।

पोखराको साहसिक पर्यटनको बढ्दो आकर्षणलाई देखेर हाइग्राएनड एडभेन्चर प्रालिले पोखरामा नयाँ गतिविधिका रुपमा एटिभी राइडिङ सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार एटिभी राइडिङमा फोर ह्वीलर चक्का कच्ची रोडमा सहजै गुड्ने गरी बनाइएको हुन्छ । कम्पनीका कर्मचारी राजेश लम्साल मोटरसाइकल चलाउनेले यो सजिलै चलाउन सक्ने बताउनुहुन्छ ।

फेवातालको किनारमा चलाउने गरी व्यवस्था गरेको कम्पनीले आउने पर्यटकलाई प्रारम्भमा सेदीस्थित कार्यालयमा प्राविधिकबाट यसका विधि र प्रत्रियाबारे जानकारी गराउने गरिएको उहाँले जानकारी दिनुभयो ।

“नयाँका लागि हामीले कार्यालय परिसरमा नै टेस्टड्राइभ गराउँछौँ”, निर्देशक महर्जनले भन्नुभयो, “टेस्ट ड्राइभका लागि टेस्ट ट्रेल निर्माण गरेका छौँ ।” अनुभवीका लागि सेदी–भकुण्डे–सेदीको आठ किलोमिटर दूरीको मार्ग निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो । उक्त सडक भकुण्डेसम्म एक किलोमिटर पक्की छ भने सात किलोमिटर कच्ची रहेको छ ।

यस मार्ग पार गर्न करिब दुई घण्टा समय लाग्ने र उक्त मार्गमा फेवाताल, जङ्गल, खोलानाला आदिको प्रत्यक्ष अनुभव लिन सकिन्छ ।

कम्पनीमा हाल एटिभी गाडी आठवटा रहेको बताउँदै उहाँले बढ्दो आकर्षणलाई दृष्टिगत गरी आठवटा थप्न लागिएको बताउनुभयो । नयाँ गतिविधिका रुपमा एटिभी राइडिङ सञ्चालन गरिएको उल्लेख गर्दै महर्जनले यसले पोखरामा पर्यटकको बसाइँ लम्ब्याउन थप सहयोग पुग्ने विश्वास लिइएको बताउनुभयो ।