घट्दै मादलको माग, परम्परागत पेसा सङ्कटमा
धनकुटा, २२ कात्तिक । तिहार नजिकिँदा देउसी–भैलोका भाकासँगै मादलको तालले रौनक थप्ने गरेकोमा यसपालि त्यही मादलको माग निकै घटेको छ । मनोरञ्जनका माध्यम र नागरिकको रुचि बदलिँदै गएसँगै मादलको प्रयोग घट्दा यसको परम्परागत सीप भएका व्यवसायी सङ्कटमा परेका छन् ।
तिहारको समयमा मादल बनाउनेहरूलाई भ्याइनभ्याई हुने गरेकोमा अहिले त्यो अवस्था छैन । धनकुटा नगरपालिका–१, गैरी टोलका छविलाल सार्की विगतमा तिहारको करिब एक महिनाअघिदेखि अन्य काम छाडेर मादल निर्माणमै व्यस्त हुने गर्थे । यस वर्ष भने उनी फुर्सदिला बनेका छन् ।
“पहिले चाडपर्व, मेला, महोत्सव र सांस्कृतिक कार्यक्रममा मादलको माग बढी हुन्थ्यो,” सार्कीले भने, “विशेषगरी तिहारमा देउसी–भैलो खेल्ने समूहले नयाँ मादल किन्ने र पुराना मर्मत गराउने गर्थे । अहिले त्यस्तो अवस्था छैन ।” यसपालि उनले केही पुराना मादलमा खरी लगाउनेबाहेक नयाँ मादल बनाएका छैनन् । सीमित व्यक्तिले नयाँ मादलको माग गरे पनि झन्झटिलो प्रक्रिया र उमेरका कारण उनले त्यो काम गर्न सकेका छैनन् ।
मेहनत धेरै, आम्दानीको सुनिश्चितता कम
मादल निर्माण सामान्य काम होइन । काठ छनोट गर्ने, आवश्यक आकारमा काट्ने, भित्र खोक्रो बनाउने, छाला तयार पार्ने, तन्काउने र खरी लगाउनेसम्मका प्रक्रिया पूरा गर्नुपर्छ । यसका लागि सीप, धैर्य र लामो अनुभव चाहिन्छ ।
मादल बनाउन खमारी, लामपाटो, सिरीस र खिर्रोजस्ता काठ प्रयोग गरिन्छ । मादलको गुणस्तर र आवाज काठमा भर पर्ने भएकाले छनोटमा विशेष ध्यान दिनुपर्ने सार्कीको भनाइ छ । काठलाई भित्रबाट खोक्रो बनाई ढुङ्ग्रो तयार पार्नु निर्माणको सबैभन्दा कठिन काममध्ये एक हो । त्यसपछि दुवैतर्फ बाख्रा, भैँसी वा गोरुको छाला कसिलो गरी तन्काइन्छ । आवाज राम्रो निकाल्न छालाको तन्काइ र खरी लगाउने कामले विशेष सीप माग्छ ।
मादलको आकारअनुसार एउटा तयार गर्न तीनदेखि सात दिनसम्म लाग्छ । समय, श्रम र सामग्रीका आधारमा एउटा मादलको मूल्य रु पाँच हजारदेखि रु १५ हजारसम्म पर्छ । कच्चा पदार्थ जुटाउन पनि सहज छैन । विशेषगरी छाला भारतबाट ल्याउनुपर्ने बाध्यता छ ।
लामो समय खर्चिएर तयार पारेको मादल बिक्री हुने ग्यारेन्टी नहुँदा व्यवसायी थप समस्यामा परेका छन् । माग घट्दै जाँदा लागत र श्रम भने उत्तिकै बढी लाग्ने भएकाले पेसालाई निरन्तरता दिन कठिन भएको सार्कीले बताए ।
आधुनिकताले ओझेलमा मौलिक बाजा
समयसँगै जीवनशैली र मनोरञ्जन गर्ने तरिका परिवर्तन भएको छ । पहिले गाउँघरका सांस्कृतिक कार्यक्रम, चाडपर्व र जमघटमा मादल मुख्य बाजा थियो । लोकगीत गाउँदा वा देउसी–भैलो खेल्दा मादलको ताल अनिवार्यजस्तै मानिन्थ्यो ।
अहिले मोबाइल फोन, इन्टरनेट, विद्युतीय बाजा र रेकर्ड गरिएका गीतसङ्गीतको प्रयोग बढेपछि मादलको माग घटेको हो । देउसी–भैलो तथा अन्य सांस्कृतिक कार्यक्रममा समेत आधुनिक ध्वनि प्रणाली र विद्युतीय बाजा प्रयोग हुन थालेका छन् । यसले परम्परागत बाजाको प्रयोग क्रमशः सीमित बनाउँदै लगेको छ ।
पहिले घरघरमा मादल बजाउने मानिस भेटिन्थे । बालबालिकादेखि वृद्धवृद्धासम्म मादलको तालमा रमाउँथे र युवाहरू मादल बजाउन सिक्ने चलन थियो । अहिले नयाँ पुस्ताको आकर्षण आधुनिक सङ्गीत र प्रविधितर्फ बढेसँगै मादल बजाउने र बनाउने सीप सिक्ने पुस्ता घट्दै गएको छ ।
सीप हराउने चिन्ता
मादल केवल बाजा मात्र होइन, नेपाली लोकसंस्कृति, परम्परा र मौलिक पहिचानको महत्त्वपूर्ण हिस्सा पनि हो । यसको तालमा नेपाली समाजको जीवनशैली, खुसी, उत्सव र सांस्कृतिक विरासत जोडिएको गीतकार रमेशचन्द्र अधिकारीले बताए । मेलापात, विवाह, व्रतबन्ध, चाडपर्व, जात्रालगायत कार्यक्रममा मादलको आफ्नै स्थान रहँदै आएको उनको भनाइ छ ।
मादल बनाउने सीप लामो अभ्यास र अनुभवबाट प्राप्त हुने भएकाले पुस्तान्तरण हुन नसके भविष्यमा दक्ष निर्माता पाउनसमेत कठिन हुने अधिकारीको चिन्ता छ । मादलको माग घट्दै जाँदा सङ्गीतका पारखी र व्यवसायी दुवै चिन्तित छन् ।
परम्परागत बाजाको प्रयोगलाई निरन्तरता दिन नसके नेपाली मौलिक सङ्गीतको एउटा महत्त्वपूर्ण पहिचान कमजोर हुने उनीहरूको चिन्ता छ । आधुनिक प्रविधि र मनोरञ्जनका नयाँ माध्यमलाई अस्वीकार गर्न नसकिए पनि आधुनिकताकै नाममा आफ्नै मौलिक कला, संस्कृति र परम्परागत सीप बिर्सनु उचित नहुने उनीहरूको बुझाइ छ ।
