छ दिनमा सिक्लेस पुगे तीन हजारभन्दा बढी पर्यटक
सिक्लेसको भ्रमण
काठमाडौँ, कार्तिक २२ । पर्यटकीय याम सुरु भएसँगै कास्कीको मादी गाउँपालिका १ स्थित पर्यटकीय गाउँ सिक्लेसमा पर्यटकको चहलपहल बढेको छ । पछिल्लो छ दिनमा तीन हजार १४६ जना पर्यटकले सिक्लेसको भ्रमण गरेका छन् ।
मादी गाउँपालिका १ का वडाध्यक्ष देविजङ्ग गुरुङका अनुसार नोभेम्बर १ देखि ६ तारिखसम्म (कात्तिक १५ देखि २० गते) तीन हजार १४६ जना पर्यटक सिक्लेस पुगेका हुन् । उक्त अवधिमा दैनिक औसत ५२४ जना पर्यटक गाउँ भित्रिएको उहाँले जानकारी दिनुभयो ।
पर्यटक आगमनको विवरणअनुसार कात्तिक १८ गते सबैभन्दा बढी ७१९ जना पर्यटक सिक्लेस पुगेका थिए । त्यसैगरी, कात्तिक १५ गते सबैभन्दा कम २५४ जना पर्यटकले गाउँको भ्रमण गरेका थिए ।
सिक्लेस पुग्ने अधिकांश पर्यटक गाउँमा बसाइँपछि प्रसिद्ध पर्यटकीय गन्तव्य कोरी तथा हिमनदी ताल कपुचेको पदयात्रामा जाने गरेका छन् । प्राकृतिक सौन्दर्य, हिमाली दृश्यावलोकन र पदयात्राको आकर्षणले सिक्लेसमा पर्यटकको आगमन बढाएको वडाध्यक्ष गुरुङले बताउनुभयो ।
पर्यटकको आगमन बढेसँगै स्थानीय होटल तथा घरबास (होमस्टे) व्यवसायी उत्साहित भएका छन् । पर्यटकीय गतिविधि बढ्दा स्थानीयस्तरमा रोजगारी तथा आयआर्जनका अवसरसमेत विस्तार हुने अपेक्षा गरिएको छ ।
पोखराबाट करिब ३८ किलोमिटर दूरीमा रहेको सिक्लेस गुरुङ समुदायको बाहुल्यता भएको पर्यटकीय गाउँ हो । यहाँ करिब ४०० घरधुरीको बसोबास रहेको छ ।
