बागलुङमा धान उत्पादन पाँच प्रतिशतले घट्यो
बागलुङ, ४ पुस । बागलुङमा लगातारको वर्षाले भित्र्याउनै ठिक्क परेको धानमा क्षति पुगेकाे छ । क्षतिका कारण यस वर्ष बागलुङमा धान उत्पादनमा कमी आएको छ ।
जिल्लामा यस वर्ष पाँच प्रतिशतले धान उत्पादनमा कमी आएको हो । बागलुङ नगरपालिका–४ की स्थानीय तेजकुमारी केसी अघिल्ला वर्षहरुमा १२ मुरी धान उत्पादन भएकोमा यस वर्ष भित्र्याउने बेला परेको पानीले क्षति पुर्याउँदा सात मुरी मात्रै भित्र्याएकाे बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “यसपालि धान निकै राम्रो भएको थियो, पोहोर परार सालको भन्दा धेरै नै उत्पादन हुने आश थियो तर पाकेको धान भित्र्याउने बेला एक्कासि एक साता पानी पर्दा धेरै नोक्सान भयो, धान सबै खेतभरी भएको थियो, न उठाउन मिल्ने न टिप्न, हामी किसानलाई वर्षाले रुवाउनु रुवायो ।”
अहिलेको भन्दा अघिल्ला सालहरुमा झण्डै दोब्बरले धान उत्पादन हुँदासमेत आयातित खाद्यान्न किनेर उपभोग गरेको सुनाउनुभयो । “पहिला–पहिला अहिलेको भन्दा धेरै धान फल्थ्यो र त दोकाने चामल किनेर खानु पथ्र्यो, अहिले त झन, निकै कम उत्पादन भएको छ, बाहिरबाट आएकै चामलले वर्ष गुजार्नुपर्ने भयो”, उहाँले भन्नुभयो ।
कृषिज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बेमौसमी वर्षाका कारण बागलुङका किसानले समस्या भोग्नुपरेको बताउनुभयो । उहाँले यस वर्ष पाँच प्रतिशतभन्दा बढी धान उत्पादनमा कमी आएको जानकारी दिनुभयो ।
गत वर्ष जिल्लाभर पाँच हजार आठ सय हेक्टर क्षेत्रफलमा धान लगाइएकोमा यस वर्ष छ हजार बढी हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । सिँचाइ राम्रो भएपछि जिल्लामा धान उत्पादन बढ्ने आँकलन गरिएको उहाँको भनाइ छ ।
अघिल्लो वर्ष १८ हजार तीन सय ५४ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष १८ हजार छ सय ९० मेट्रिक टन धान उत्पादन भएको भट्टराईको भनाइ छ । तुलनात्मकरुपमा केही बढेको देखिए पनि खेतीयोग्य जमिन बढ्दा उत्पादन पनि बढ्नुपर्ने हो । तर त्यसो हुन सकेन ।
बागलुङमा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ ।
