जरिबाना नतिर्ने व्यवसायीलाई सरकारकाे एक महिने अल्टिमेटम, सम्पत्ति रोक्कासम्मको चेतावनी

काठमाडौँ, ११ मङ्सिर । बजार अनुगमनका क्रममा लगाइएको जरिबाना नतिर्ने व्यवसायीलाई सरकारले एक महिनाभित्र रकम दाखिला गर्न निर्देशन दिएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार सूचना जारी गर्दै जरिबाना तिर्न बाँकी रहेका सबै व्यावसायिक फर्म, कम्पनी तथा प्रतिष्ठानलाई एक महिनाभित्र सरकारी राजस्व खातामा रकम जम्मा गर्न भनेको हो।

विभागका अनुसार कानुनविपरीत व्यवसाय सञ्चालन गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम विभिन्न व्यवसायीलाई जरिबाना गरिएको थियो। तर, कतिपयले अझै रकम दाखिला नगरेको पाइएको छ।

विभागले तोकिएको समयभित्र जरिबाना नतिरे व्यवसायमा शिलबन्दी गर्ने, फर्म वा कम्पनीको दर्ता खारेजी तथा इजाजतपत्र निलम्बन गर्ने चेतावनी दिएको छ।

त्यस्तै, जरिबाना रकम सरकारी बाँकीसरह असुल गर्न व्यवसायीको चलअचल सम्पत्ति र बैंक खाता रोक्का राख्ने प्रक्रिया अघि बढाइने विभागले जनाएको छ।

जरिबाना तिरेपछि सक्कल भौचर विभागमा पेस गर्नुपर्नेछ। थप जानकारीका लागि विभागको टोल फ्री नम्बर ११३७ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *