डोको बुन्ने सीप बन्यो विक परिवारको जीउने आधार

म्याग्दी , ६ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका १ गुर्जाका धनबहादुर विक र टेकबहादुर विकको परिवार कामको खोजीमा बेनी झरेको तीन वर्ष भयो । अहिले यी दुई परिवार बेनी नगरपालिका वडा नं २ बगरफाँटमा जग्गा भाडामा लिएर टहरो बनाइ डोको बुनेर त्यसबाट आएको पैसाले गुजारा चलाउँदै आएका छन् ।

एकहत्तर वर्षीय धनबहादुर आफू जान्ने भएदेखि अहिलेसम्मको उमेर डोको बुनेरै जीवन बिताउनुभयो । जीवनका अनेकौँ घामपानी भोगेका उहाँ अहिले डाँडामाथिको घाम जस्तै कति बेला अस्ताउने हो पत्तै छैन तर, उहाँको जागर र जोस भने १६–१७ वर्षे लक्का जवानको जस्तो देखिन्छ ।

घरको पिँढीमा बसेर नातिनातिनी खेलाउँदै छोरा बुहारीको कमाइ खाने बेलामा चोयाँसँग खेल्दै डोका बुन्न व्यस्त उहाँ डोको बुन्ने सीप नै आफ्नो बुढेसकालको सहारा भएको बताउनुहुन्छ ।

“के गर्नु हजुर छोरा बुहारीले हेरेनन्, सम्पत्ति छैन,बसेर खान पुग्दैन,त्यसैले यो उमेरमा पनि डोको बुनेर गुजारा चलाउन बाध्य छु ।”

त्यस्तै अवस्था छ सोही ठाउँमा डोको बुन्दै गर्नुभएका ६९ वर्षीय टेकबहादुर विकको पनि । उहाँले १२ वर्षको उमेरमा डोको बुन्न सिकेको सीप नै जीवन जिउने आधार बनेको बताउनुहुन्छ ।

देशमा भएको राजनीतिक परिवर्तनले विकद्धयको जीवनमा कुनै परिवर्तन ल्याउन नसकेको उहाँहरुको भनाइ छ । उहाँहरुले डोको बुन्ने सीप नै आफ्ना लागि मुख्य आधार भएको बताउनुभयो ।

टेकबहादुरले एक डोको तीन सयदेखि पाँचसय सम्ममा बिक्री गर्दै आउनुभएको छ । “अहिले पहिलेको जस्तो डोकाको बिक्री छैन, पहिला घरमै ग्राहक खोज्न आउँथे, अहिले डोको बेच्न भारी नै बोकेर गाउँगाउँ चाहार्नुपर्छ” उहाँले भन्नुभयो । उहाँले आफ्नो हातमा सीप र काम गर्नसक्ने अवस्था रहुञ्जेलसम्म ढोको बुनेर नै जीविका चलाउने बताउनुभयो ।

“अहिलेसम्म यसैबाट जीविका चलाएको छु, अव कति नै बाँचुला र ? बाँचुन्जेलसम्म जीउ सञ्चै भयो भने डोको बुनेर नै गुजारा चलाउँछु” टेकबहादुरले भन्नुभयो । हातमा सीप छ, घामपानीमा निस्कन नपर्ने, बुढेसकालमा दिन बिताउने बाटो पनि यही डोको बुन्ने पेसा नै बनेको विकको भनाइ छ ।

डोको बुनेर आएको पैसाले दैनिक घरखर्च चलाउने र आफ्नी श्रीमतीको औषधि उपचारमा खर्च गर्ने गरेको उहाँले बताउनुभयो । “छोराबुहारीले नहेरेपछि यही डोको बुनेर श्रीमती र म पालिएका छौँ” उहाँले भन्नुभयो ।

बाध्यताले गर्दा जीवनको अन्तिम समयसम्म पनि डोको बुनेर बेच्नुपर्ने अवस्था छ । ग्रामीण क्षेत्रमा डोको बुन्ने जनशक्ति नहुँदा बुनेका डोका भने गाउँगाउँसम्म पु¥याउन सक्ने हो भने बिक्रीको कुनै समस्या छैन ।