एआई दौडमा अमेरिका कि चीन? चार तथ्यले देखाउँछ यस्तो तस्वीर

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को क्षेत्रमा अमेरिका र चीनबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। एआईमा लगानी र कम्प्युटिङ शक्तिमा अमेरिका अगाडि रहे पनि अनुसन्धान र दक्ष जनशक्ति उत्पादनमा चीनले अग्रता लिइरहेको छ। उन्नत एआई मोडलमा पनि चीनले अमेरिकासँगको दूरी घटाउँदै गएको देखिन्छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार वासिङ्टनमा हुने शिखर वार्तामा व्यापार, एआई, ताइवानलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ। यसै सन्दर्भमा दुवै देशको एआई क्षमताबारे चार प्रमुख तथ्य यस्ता छन्।

कम्प्युटिङ शक्तिमा अमेरिका अगाडि

एआई मोडल विकास र सञ्चालनका लागि ठूलो कम्प्युटिङ क्षमता आवश्यक पर्छ। एआई चिपको कुल क्षमताका आधारमा अमेरिकासँग विश्वको करिब तीनचौथाइ एआई कम्प्युटिङ शक्ति रहेको इपोच एआईको तथ्यांकले देखाएको छ। चीनको हिस्सा भने १४ प्रतिशतभन्दा केही बढी छ।

अमेरिकी कम्पनी एनभिडियाले प्रमुख चिप डिजाइनरमध्ये विश्वको ६० प्रतिशतभन्दा बढी एआई कम्प्युटिङ क्षमतामा योगदान गरेको स्ट्यानफोर्डको २०२६ एआई इन्डेक्सले जनाएको छ। चीनको हुवावेको हिस्सा भने तुलनात्मक रूपमा सानो भए पनि बढ्दो क्रममा छ।

अमेरिकामा ५ हजार ४०० भन्दा बढी डेटा सेन्टर छन्, जुन अन्य कुनै पनि देशको तुलनामा करिब १० गुणा बढी हो। समर्पित एआई डेटा सेन्टरमा पनि अमेरिका अगाडि छ।

एआई मोडलमा चीनले दूरी घटाउँदै

फ्रन्टियर एआई मोडल विकासमा अमेरिका लामो समयदेखि अगाडि रहँदै आएको छ। ओपनएआई, एन्थ्रोपिक, गुगल र एक्सएआईजस्ता अमेरिकी कम्पनीका मोडल उच्च स्थानमा छन्। तर चिनियाँ अलिबाबा र डीपसिकका मोडलले पनि तीव्र प्रतिस्पर्धा गरिरहेका छन्।

मार्च २०२६ सम्मको एरेना मूल्यांकनमा अमेरिकी र चिनियाँ मोडलबीचको अन्तर निकै साँघुरिएको थियो। वास्तविक प्रयोगका आधारमा एआई मोडलको उपयोग मापन गर्ने ओपनराउटरमा भने चिनियाँ कम्पनी डीपसिक, जेड डट एआई र टेन्सेन्टका मोडल शीर्ष तीन स्थानमा थिए।

चिनियाँ मोडलहरू तुलनात्मक रूपमा सस्ता हुनु र धेरै मोडल ‘ओपन-वेट’ हुनु यसको एउटा कारण मानिएको छ। सीएसआईएसको जुलाई विश्लेषणअनुसार चिनियाँ एआई मोडलहरू अमेरिकी अग्रणी मोडलभन्दा केही महिना मात्र पछाडि छन्।

एआई पूर्वाधारमा अमेरिकी लगानी निकै ठूलो

एआई पूर्वाधारमा अमेरिकाले चीनभन्दा धेरै ठूलो रकम खर्च गरिरहेको छ। गोल्डम्यान स्याक्सका अनुसार अमेजन, माइक्रोसफ्ट, गुगल, मेटा र ओराकलजस्ता अमेरिकी ठूला प्रविधि कम्पनीले सन् २०२६ मा करिब ७६४ अर्ब डलर खर्च गर्ने अनुमान छ।

त्यसको तुलनामा चीनका अलिबाबा, टेन्सेन्ट, बाइडु र बाइटडान्सले करिब १०२ अर्ब डलर खर्च गर्ने अनुमान गरिएको छ।

यद्यपि चीनको लगानी वृद्धि दर अमेरिकाको भन्दा केही तीव्र हुने अनुमान छ। ट्रेन्डफोर्सका अनुसार सन् २०२६ मा चिनियाँ प्रमुख चार प्रविधि कम्पनीको पुँजीगत खर्च ८० प्रतिशतभन्दा बढी बढ्न सक्छ भने अमेरिकी कम्पनीको वृद्धि करिब ७६ प्रतिशत रहने अनुमान छ।

अनुसन्धान र प्रतिभामा चीन अगाडि

एआईसम्बन्धी अनुसन्धान प्रकाशन र प्राविधिक जनशक्ति उत्पादनमा चीनले अमेरिकालाई पछि पारेको छ।

सेन्टर फर सेक्युरिटी एन्ड इमर्जिङ टेक्नोलोजीका अनुसार सन् २०२४ मा विश्वका एआईसम्बन्धी प्रकाशनमध्ये २७ प्रतिशतभन्दा बढी चीनबाट आएका थिए। अमेरिकाको हिस्सा भने करिब १२ प्रतिशत थियो।

म्याक्रोपोलोको अध्ययनअनुसार सन् २०२२ मा विश्वका शीर्ष २० प्रतिशत एआई अनुसन्धानकर्तामध्ये ४७ प्रतिशतले चीनमा स्नातक अध्ययन गरेका थिए। सन् २०१९ मा यस्तो हिस्सा २९ प्रतिशत थियो।

तर चीनमा शिक्षित शीर्ष एआई अनुसन्धानकर्तामध्ये ७२ प्रतिशत अमेरिकामा कार्यरत रहेको अध्ययनले देखाएको छ। यसले एआई प्रतिभा आकर्षित गर्ने क्षमतामा अमेरिका अझै बलियो रहेको देखाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *