सोलुखुम्बुका दीर्घरोगीहरूलाई घरमै निःशुल्क औषधी र स्वास्थ्य परिक्षण
सोलुखुम्बु, ८ पुस । सोलुखुम्बु लिखुपिके गाउँपालिकाका दीर्घरोगीहरूलाई घरमै गएर निःशुल्क औषधि वितरण तथा स्वास्थ्य परिक्षण गरिएकाे छ ।
गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रमअनुसार पालिकाभित्रका दीर्घरोगीहरूलाई घरमै गएर औषधि वितरणका साथै निःशुल्क स्वास्थ्य परिक्षण गरिएकाे हाे ।
पालिकाले आर्थिक अवस्था कमजोर भएर स्वास्थ्य उपचारका लागि समस्या झेलिरहेका दीर्घरोगीहरूलाई स्थानीय सरकारले राहतस्वरुप यो कार्यक्रम ल्याएको अध्यक्ष मीना कार्की बस्नेतले बताउनुभयो ।
पालिकावासीलाई स्वास्थ्यकर्मीलाई खटाई घरघरमै पुगेर औषधि वितरणसँगै स्वास्थ्य परीक्षणसमेत गरिने उहाँको भनाइ छ ।
औषधि उपचारकै अभावमा नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको बस्नेतले बताउनुभयो । दीर्घरोगी आफैलेपनि पालिकाभित्रका स्वास्थ्य संस्थाबाट निःशुल्क औषधि लिन सक्नेछन् ।
औषधिको नाम टिपोट गर्न छुटाएका बिरामीले स्वास्थ्य संस्थामा गएर सम्पर्क गर्नसक्ने पालिकाको स्वास्थ्य शाखा कार्यालयले जनाएको छ ।