नेपाल कोरियामैत्री अस्पतालमा डायलासिस सेवा सुरु

भक्तपुर , ८ पुस । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगर अस्पतालमा मिर्गौला रोगीको उपचारमा सहज पु¥याउने उद्देश्यले डायलासिस सेवा सुरु भएको छ ।

अस्पताललाई रोटरी क्लब अफ साङ्ग्ली मिडटाउनको प्राविधिक सहयोग, रोटरी क्लब अफ जवलपुर वेष्टको आर्थिक सहयोग र रोटरी क्लब अफ मध्यपुरमार्फत् मध्यपुरथिमि नगरपालिकासँगको सहकार्यमा चार थान डायलासिस मेसिन हस्तान्तरण गरिएसँगै सेवा सञ्चालनमा आएको हो ।

अस्पताललाई बिहीबार क्लबले ४२ लाख नगरपालिकाले २० लाख गरी कूल ६२ लाख सहयोगमा ल्याइएका मेसिन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र रोटरी इन्टरनेशनल डिष्ट्रक ३२९२ का पूर्व डिजी किरणलाल श्रेष्ठले संयुक्तरूपमा हस्तान्तरण गर्नुभएको थियो ।

अस्पतालमा पहिलो पटक डायलासिस सेवा सञ्चालन गर्न पाउँदा खुसी लागेको भन्दै नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

“जनताको स्वास्थ्यप्रति हामी सचेत छौँ, अस्पताललाई कोइकाले एक अर्ब सहयोग गरेको छ, केही वर्षभित्र अस्पताल विस्तारसंगै शय्याको सङ्ख्या दुई सय पु¥याउने छौँ”, उहाँले भन्नुभयो ।