अमेरिकाकाे तापक्रम माइनस ४५ डिग्रीमा झर्‍यो, चिसोले ५६ जनाको मृत्यु

एजेन्सी, १२ पुस । अमेरिकाकाे उत्तरीभागमा चिसोले ५६ जनाको मृत्यु हुनुकासाथै चिसो सिरेटो र हिमपातले जनजीवन प्रभावित भएको छ । बीबीसीका अनुसार न्यूयोर्कमा चिसोका कारण २८ जनाले ज्यान गुमाएकाे छ ।

चिसोले न्यूयोर्कको बफेलो शहर सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँका गभर्नरले अहिले युद्धको जस्तो स्थिति रहेको बताएका छन् ।

सरकारी अधिकारीहरुले अत्यावश्यक नपरी घर बाहिर ननिस्किन सुझाव दिएका छन् । यद्यपि एरी काउन्टीमा १२ जना मानिसहरु घरभित्रै र गाडीभित्रै मृत फेला परेका छन् ।

बीबीसीका अनुसार ओन्टारियो, मोन्टाना, क्युबेक, भर्मन्ट, ओहायो, मिजुरी, विस्कन्सिन, क्यान्सस, कोलोराडो लगायतका क्षेत्रहरु नराम्रोसँग प्रभावित भएका छन् । मोन्टानामा न्युनतम तापक्रम माइनस ४५ डिग्री सेल्सियस मापन भएको छ ।

बीबीसीका अनुसार हिमपात क्यानडादेखि मेक्सिकोको सिमानासम्म फैलिएको छ । क्यानडाको कोलम्बिया प्रान्तमा बरफ जमेको सडकमा बस चिप्लिएर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।

हिउँले सडकहरु अवरुद्ध छन् भने सयौं उडानहरु रद्द गरिएको छ । क्रिसमस चाडको बेला भएको हिमपात र जाडोले मानिसहरुको दैनिकी प्रभावित भएको छ । मौसमविदहरुले हिमपात र चिसो केही दिनमा कम हुने बताएका छन् ।