इन्डोनेसियाको कारखानामा भीषण आगलागी, तीन जनाको मृत्यु, दर्जनौँ बेपत्ता

काठमाडौं । इन्डोनेसियाको पश्चिमी जाभास्थित एक मिठाई उत्पादन गर्ने कारखानामा शनिबार भएको भीषण आगलागीमा कम्तीमा तीन जनाको मृत्यु भएको छ। घटनामा अझै करिब ३६ जना बेपत्ता रहेको र मृतकको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

आगलागीपछि आइतबारसम्म पनि कारखानाका केही भागमा आगो निभाउने काम जारी थियो। उद्धार टोलीले क्षतिग्रस्त भवनका विभिन्न भागमा फसेका हुनसक्ने कामदारको खोजी गरिरहेको छ।

इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार एजेन्सीका अनुसार १५ जना जीवितै फेला परेका छन् भने अन्य चार जनालाई चोटपटक लागेपछि अस्पताल तथा स्थानीय स्वास्थ्य केन्द्रमा लगिएको छ। उद्धारकर्ताले आइतबार साँझसम्म २४ वटा शव झोला बरामद गरेका थिए। बेपत्ताको खोजी कार्य जारी रहेको एजेन्सीले जनाएको छ।

बान्तेन प्रान्तका गभर्नर आन्द्रा सोनीका अनुसार शनिबार साँझ आगलागी हुँदा कारखानाभित्र करिब ६० जना मानिस रहेको अनुमान गरिएको छ। कारखाना बान्तेन प्रान्तको सेराङ जिल्लामा पर्ने तथा राजधानी जकार्ताबाट करिब ५० किलोमिटर पश्चिममा रहेको छ।

आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनास्थलका तस्बिर तथा भिडियोमा रातिको समयमा ठूलो कारखाना आगोको लप्काले घेरिएको र दमकलकर्मीले आगो नियन्त्रणमा लिइरहेको देखिएको छ। उद्धारकर्ताले आइतबार बिहान भग्नावशेषबाट कम्तीमा एक शव निकालेका थिए।

स्थानीय सञ्चारमाध्यमका अनुसार आइतबार राति खोजी कार्य स्थगित गरिएको थियो। खोजी सोमबार पुनः सुरु गरिने जनाइएको छ।

‘बेपत्ता पीडितको खोजीका लागि संयुक्त खोज तथा उद्धार टोलीले हरसम्भव प्रयास गरिरहेको छ। घटनास्थलमा परिचालित उद्धारकर्मीको सुरक्षालाई पनि प्राथमिकता दिइएको छ,’ राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले जनाएको छ।

बेपत्ता कामदारका आफन्तहरू घटनास्थल बाहिर भेला भएर आफ्ना परिवारका सदस्यको अवस्थाबारे जानकारी पर्खिरहेका थिए।

प्रसारक कोम्पास टीभीका अनुसार दमकललाई शनिबार स्थानीय समयअनुसार अपराह्न ४ः३० बजे कारखानामा आगलागी भएको सूचना दिइएको थियो। तर दमकल घटनास्थल पुग्दा भवनको ठूलो भागमा आगो फैलिसकेको थियो।

अधिकारी तुबागुस माचफुज्दले आगो लागेको ठूलो क्षेत्रका कारण कम्पनीको अग्नि सुरक्षा प्रणालीले काम गरे–नगरेको तत्काल यकिन गर्न नसकिएको बताएका छन्।

उद्धार अधिकारीहरूका अनुसार उक्त कारखाना पीटी फोनुसा अगुङ मुलियाको स्वामित्वमा रहेको छ। कम्पनीले आफ्नो LinkedIn प्रोफाइलमा आफूलाई इन्डोनेसियाको ठूलो खाद्य तथा पेय पदार्थ कम्पनीमध्ये एक युनिफामको सहायक कम्पनीका रूपमा उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *