म्यानचेस्टरको कन्सर्टमा अज्ञात पदार्थ छर्किएपछि १२ हजार दर्शकको आपत्कालीन उद्धार
म्यानचेस्टर, ८ मङ्सिर । बेलायतको म्यानचेस्टरस्थित को–अप लाइभ एरिनामा आयोजित सङ्गीत कार्यक्रममा भीडभित्र अज्ञात पदार्थ छर्किएपछि करिब १२ हजार दर्शकलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ ।
अमेरिकी र्यापर डन टोलिभरको प्रस्तुति चलिरहेका बेला आइतबार राति करिब १० बजे उक्त घटना भएको हो । कार्यक्रम सकिनै लाग्दा भीडमा अज्ञात पदार्थ फैलिएको र त्यसपछि दर्शकहरूले असह्य गन्ध महसुस गरेको तथा मानिसहरू चिच्याउँदै भाग्न थालेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनापछि एक जनालाई अस्पताल भर्ना गरिएको छ भने ५० जनाभन्दा बढीलाई आँखा तथा श्वासप्रश्वाससम्बन्धी समस्याका कारण घटनास्थलमै स्वास्थ्य परीक्षण गरिएको उत्तरपश्चिम एम्बुलेन्स सेवाले जनाएको छ ।
ग्रेटर म्यानचेस्टर प्रहरीले अज्ञात पदार्थका कारण मानिसहरू प्रभावित भएको सूचना प्राप्त भएपछि गम्भीर आपत्कालीन अवस्था (मेजर इन्सिडेन्ट) घोषणा गरेको थियो । प्रहरीले सुरुमा उक्त पदार्थ अश्रुग्यास हुनसक्ने आशङ्का गरेको थियो ।
घटनाका बेला कन्सर्टमा उपस्थित २२ वर्षीय जोए होवेले बीबीसी रेडियो म्यानचेस्टरसँग कुरा गर्दै अचानक मानिसहरू बाहिर निस्कन थालेपछि कार्यक्रमस्थलमा त्रास फैलिएको बताए ।
उनका अनुसार कार्यक्रमस्थलका बत्ती एक्कासि बल्दा कलाकारलाई पनि मञ्चबाट हतारहतार बाहिर लगिएको थियो । त्यसपछि फैलिएको दुर्गन्धले दर्शकहरूलाई थप आतङ्कित बनाएको थियो ।
“समय नै रोकिएजस्तो भएको थियो । केही भइरहेको थिएन । त्यसपछि हामी बाहिर निस्कने निर्णयमा पुग्यौँ । मानिसहरू ह्विलचेयरमा राखेर बाहिर ल्याइँदै थिए । उनीहरूलाई सास फेर्न गाह्रो भइरहेको थियो । त्यो निकै पीडादायी दृश्य थियो”, उनले भने ।
उनले कार्यक्रमस्थलको सुरक्षा व्यवस्था कमजोर रहेको र प्रवेशद्वारमा पर्याप्त जाँच नभएको आरोपसमेत लगाए ।
विगनकी २३ वर्षीया जेसिका मोल्ट–बफीले पनि कार्यक्रमस्थलबाट बाहिर निस्केपछि मानिसहरू रोइरहेको र पीडाले चिच्याइरहेको देखेको बताइन् ।
उनका अनुसार मेडलक स्क्वायर जाने पुलमा केही युवा पीडाले चिच्याउँदै सहयोग मागिरहेका थिए । तर, बाहिर जम्मा दुई जना सुरक्षाकर्मी मात्रै उपस्थित थिए ।
त्यस्तै, १९ वर्षीय मलाची क्लार्कले पनि सुरक्षाकर्मीले झोला जाँच नगरेको दाबी गरेका छन् । उनले आफूले समेत झोला जाँच गर्नुपर्छ कि भनेर सुरक्षाकर्मीलाई सोध्नुपरेको बताए ।
सुरुमा आफूले घटनालाई भीडको चापका कारण भएको ठाने पनि पछि एक सुरक्षाकर्मीले रासायनिक पदार्थसँग सम्बन्धित घटना भएको जानकारी दिएको उनले बताए ।
कार्यक्रम रोकिएको करिब एक घण्टापछि मात्रै दर्शकलाई भवन खाली गर्न सूचना दिइएको उनको भनाइ छ ।
यद्यपि, को–अप लाइभले आफ्नो वेबसाइटमार्फत सुरक्षाका विभिन्न उपाय अपनाइएको जनाएको छ । केही सुरक्षा व्यवस्था प्रत्यक्ष देखिने र केही नदेखिने गरी सञ्चालनमा रहेको उल्लेख गर्दै एरिनाले यात्रु तथा दर्शकले खल्तीका सामान बाहिर निकाल्न नपर्ने गरी निषेधित वस्तु पहिचान गर्ने आधुनिक सुरक्षा प्रणाली प्रयोग गरिएको जनाएको छ ।
कार्यक्रममा सहभागी अर्का दर्शक हार्परले मानिसहरूलाई खोकी लागिरहेको र केहीले रगतसमेत खोकिरहेको देखेपछि आफू निकै डराएको बताए । घटनाको कारणबारे कुनै जानकारी नहुँदा आफू र आफ्नी प्रेमिका त्रसित भएको उनको भनाइ छ ।
यसैबीच, डन टोलिभरको भ्रमण कार्यक्रमका अन्य प्रस्तुति पनि यस्तै घटनाको विवादमा परेको बताइएको छ । उनका केही प्रशंसकले स्विट्जरल्यान्डको जुरिच र फ्रान्सको पेरिसमा आयोजित कार्यक्रममा पनि भीडमाथि स्प्रे वा ग्यास छर्किएको दाबी गरेका छन् ।
घटनापछि को–अप लाइभ एरिनाका प्रवेशद्वारहरू बन्द गरी प्रहरीले सुरक्षा घेरा बनाएको छ । सेतो सुरक्षा पोसाक लगाएका अपराध अनुसन्धान अधिकृतहरू घटनास्थलमा आवतजावत गरिरहेका छन् । उनीहरूले भीडमा फैलिएको पदार्थको प्रकृति र घटनाको कारण पत्ता लगाउने काम गरिरहेका छन् ।
ग्रेटर म्यानचेस्टर प्रहरीका सहायक प्रमुख प्रहरी अधिकारी स्टेफ पार्करले घटनापछि १२ हजारभन्दा बढी दर्शकलाई सुरक्षित रूपमा बाहिर निकालिएको पुष्टि गरेकी छन् ।
“कन्सर्टमा उपस्थित प्रत्येक व्यक्तिको सुरक्षा सुनिश्चित गर्नु हाम्रो पहिलो प्राथमिकता थियो । केही व्यक्तिलाई घटनास्थलमै उपचार गरिएको छ भने एक जनालाई थप परीक्षणका लागि अस्पताल पठाइएको छ”, उनले भनिन् ।
कार्यक्रमस्थलबाट बाहिरिएपछि पनि अस्वस्थ महसुस गर्ने व्यक्तिलाई नजिकको अस्पतालमा जान उनले आग्रह गरेकी छन् ।
उनका अनुसार गम्भीर आपत्कालीन अवस्था घोषणा गर्दा प्रहरी, एम्बुलेन्स तथा अन्य आपत्कालीन निकायबीच समन्वय गरी सुरक्षित उद्धार गर्न सहज भएको थियो । अब उक्त पदार्थ के थियो र घटना कसरी भयो भन्ने विषयमा विस्तृत अनुसन्धान गरिने उनले बताइन् ।
उत्तरपश्चिम एम्बुलेन्स सेवाका अनुसार सावधानीका रूपमा प्रभावित व्यक्तिहरूको शरीर तथा कपडाबाट सम्भावित रासायनिक पदार्थ हटाउने प्रक्रिया (डिकन्टामिनेसन) सञ्चालन गरिएको छ । घटनास्थलमा जोखिमयुक्त क्षेत्रका लागि विशेष तालिमप्राप्त टोलीसहित विभिन्न आपत्कालीन उद्धार टोली परिचालन गरिएको थियो ।
को–अप लाइभले पनि घटनाको कारण पत्ता लगाउन प्रहरीसँग नजिकबाट सहकार्य भइरहेको जनाएको छ । प्रहरीबाट थप जानकारी प्राप्त भएपछि घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्ने एरिनाको भनाइ छ ।
३२ वर्षीय डन टोलिभर (वास्तविक नाम कालेब जाकारि टोलिभर) आफ्नो ‘नाइट्रस टुर’ अन्तर्गत म्यानचेस्टरमा प्रस्तुति दिइरहेका थिए । सन् २०२७ को ग्रामी अवार्डका लागि उत्कृष्ट नयाँ कलाकारसहित पाँच विधामा मनोनयनमा परेका उनी अमेरिकी सङ्गीत क्षेत्रमा चर्चित र्यापर हुन् ।
