जनबहालस्थित सेतो मच्छिन्द्रनाथलाई गराइयो महास्नान
काठमाडौं, १५ पुस । काठमाडाैंकाे केलटाेलस्थित जनबहालमा रहेकाे सेतो मच्छिन्द्रनाथलाई महास्नान गराइएको छ ।
पुस शुक्ल अष्टमीको दिन सेतो मच्छिन्द्रनाथलाई महास्नान गराउने परम्परा अनुसार महास्नान गराइएको हो ।
सेतो मच्छिन्द्रनाथलाई हिन्दूहरु हरिहरका रुपमा, बौद्ध धर्मावलम्बीहरु आर्यावलोकितेश्वरका रुपमा र वैष्णवले नारायणका रुपमा पूज्ने गर्दछन् । यस परम्परासँग केही महत्वपूर्ण र रोचक विधि पनि जाेडिएकाे पाइन्छ ।
मूल पुरोहितले कुनै विघ्न बाधा नआवस् भन्दै पूर्व-पश्चिम, उत्तर-दक्षिण, अग्नि, नैऋत्य, वायु, इशान, तल र माथि रहेका देवताको पूजाआजा गर्छन् । यो कार्यक्रम सुरु हुनुअघि बसन्तपुरबाट जीवित देवी कुमारीलाई जनबहालमा ल्याइन्छ ।
त्यसपछि महास्नान गराउन मूर्तिलाई मन्दिरमा नियमित राख्ने स्थानबाट बाहिर निकालेर डबलीमा राखिन्छ । त्यसपछि मूर्तिलाई लगाइदिइएका सबै कपडाहरु फुकालिन्छ र शोभाभगवतीमा रहेको निर्मल तीर्थबाट ल्याएको जलले स्नान गराइन्छ ।
त्यसपछिमात्रै महास्नानको मुख्य कार्यक्रम सुरु हुन्छ । महास्नान रातिमा हुन्छ । महास्नान गराइएको भोलिपल्ट मूर्तिलाई घाम तपाउने प्रचलन छ । तर, घाम तपाउँदा बादल लाग्ने धार्मिक विश्वास रहेकाे पाइन्छ ।
साइत हेरेर मानिसको जस्तो १० कर्मको संस्कार पूर्णिमासम्म जारी रहन्छ र पूर्णिमाको दिन सेतो मच्छिन्द्रनाथको मूर्तिलाई नयाँ पहिरन लगाइन्छ ।
सेतो मच्छिन्द्रनाथको नित्य पूजा भने मूर्तिको साटो कलशमा गरिन्छ । दश कर्मको विधि सकिएपछि मूर्तिमा प्राणप्रतिष्ठा गरेर मन्दिरको यथास्थानमा राखिन्छ ।