छत्रकोटका अवकाश पाउने महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण

गुल्मी, १९ पुस । गुल्मीको छत्रकोट गाउँपालिकाले अनिवार्य अवकाश पाउने महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण उपलब्ध गराउने भएको छ । पालिकाले ६० वर्ष उमेर पुगी अनिवार्य अवकाश हुने महिला स्वास्थ्य स्वयंसेवीकालाई मासिक एक हजारका दरले निवृत्तिभरण उपलब्ध गराउने घोषणा गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभएको छ ।

सङ्घीय सरकारले ६० वर्ष उमेर पुगि निवृत्त हुनेलाई एकमुष्ट २० हजार उपलब्ध गराउँदै आएकोमा पालिकाले उक्त रकममा ३० हजार थप गरी एकमुष्ट ५० हजार उपलब्ध गराउने घोषणा गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो । पाँच वर्ष भन्दा बढी सेवा अवधि पुगेर अवकाश लिनेको हकमा भने पालिकाले एकमुष्ट दश हजार उपलब्ध गराउने भएको छ ।

महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण उपलब्ध गराउन पालिकाले बजेटको सुनिश्चितता गरिसकेको छ । यसका लागि कार्यविधि बनाउन लागिएको र कार्यविधि बनेपछि कानुन बनाएर यही आर्थिक वर्षको दोस्रो चौमासिकदेखि कार्यान्वयन गरिने प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताउनुभएको छ ।

छत्रकोट गाउँपालिकाका स्वास्थ्य संयोजक श्यामसुन्दर पोख्रेलले पालिकाको उक्त निर्णय आम स्वास्थ्य स्वयंसेवीकाका लागि महत्वपूर्ण भएको बताउनुभयो । यो निणर्यले स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुका लागि प्रेरणा र हौसला प्रदान गर्नुका साथै स्वाथ्यकर्मीलाई पनि थप उत्साहित बनाएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *