जाडो अत्यधिक बढेपछि धनुषाका विद्यालय पनि धमाधम बन्द

धनुषा, २० पुस । तराईका जिल्लाहरूमा जाडो अत्यधिक बढेपछि धनुषाका विद्यालय पनि धमाधम बन्द हुन थालेका छन् ।

तराई मधेशका जिल्लाहरूमा अत्यधिक चिसो बढेर जनजिवन कष्टकर बन्दै गएपछि स्थानीय सरकारले विद्यालयहरुमा धमाधम बिदा दिन थालेको हाे ।

धनुषामा मंगलबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले उपमहानगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु पुस २० गतेदेखि २२ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो ।

उपमहानगरका शिक्षा युवा तथा खेलकुद शाखाका वरिष्ठ उपसचिव मिहिलाल यादवले मंगलबार एक सूचना जारी गर्दै जानकारी गराएका हुन् । तीन दिनको जाडो बिदा शैक्षिक क्यालेण्डरमा उल्लेखित पुस २७ देखि माघ तीन गतेसम्मको जाडो बिदाबाट कट्टा गर्ने व्यवस्था मिलाएको उनले बताए ।

सबैला नगर कार्यपालिकाको बैठकले जाडो बिदा कट्टा हुने गरी पाँच दिनको लागि विद्यालयहरुमा बिदा दिएको जानकारी गराएका छन् ।

अत्यधिक चिसोले बालबालिकालाई विद्यालय आउन जान तथा पठनपाठनमा कष्टकर बनेकाे भन्दै पालिकाहरु धमाधम बिदा दिन थालेको हो ।