तिहारपछि लमजुङका ग्रामीण पर्यटकीय क्षेत्रमा चहलपहल बढ्यो

लमजुङ, १० मङ्सिर । तिहारपछि लमजुङका ग्रामीण पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको छ । पर्यटक बढेसँगै स्थानीय होमस्टे तथा व्यवसायी उत्साहित भएका छन् ।

जिल्लाको घलेगाउँ, काउलेपानी, राइनासकोट र हरसिङडाँडामा पर्यटकको चहलपहल बढेको छ । घलेगाउँमा दैनिक १०० देखि १५० जनासम्म पर्यटक आउने गरेको होमस्टे सञ्चालक दीर्घराज घलेले बताउनुभयो । गुरुङ संस्कृति, परम्परागत बस्ती र हिमाली दृश्य यहाँका प्रमुख आकर्षण हुन् ।

बेँसीसहरको काउलेपानीमा दैनिक ६० देखि ७० तथा राइनासकोटमा ३० देखि ४० जनासम्म पर्यटक पुग्ने गरेका छन् । काउलेपानीको धार्मिक तथा सांस्कृतिक आकर्षण र राइनासकोटको ऐतिहासिक महत्व तथा हिमाली दृश्यले पर्यटक तान्ने गरेको स्थानीय व्यवसायीले बताएका छन् ।

मस्र्याङ्दी गाउँपालिकाको हरसिङडाँडामा पनि पर्यटकको आगमन बढेको छ । सडक पहुँच सहज हुँदै गएपछि पर्यटकको चहलपहल बढ्न थालेको स्थानीय व्यवसायीको भनाइ छ ।

ग्रामीण क्षेत्रमा पर्यटक बढेसँगै होमस्टे, होटल तथा अन्य स्थानीय व्यवसाय चलायमान भएका छन् । पूर्वाधार विकास र प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन सके ग्रामीण पर्यटनले स्थानीय अर्थतन्त्रमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *