‘आकस्मिक उपचारमा मिलिसेकेण्ड समय पनि महत्त्वपूर्ण हुन्छ’ – कार्यवाहक प्रमुख डंगोल

काठमाडौँ, १० मङ्सिर । आकस्मिक उपचारका बिरामीको जीवन रक्षा गर्न समयको अधिकतम उपयोग र स्वास्थ्य सेवा प्रवाहलाई सहज तथा सुरक्षित बनाउन काठमाडौँ महानगरपालिकाले वीर अस्पतालका पुरानो र नयाँ भवन जोड्ने लिफ्टसहितको अत्याधुनिक आकाशे पुल निर्माण सुरु गरेको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले आकस्मिक अवस्थामा रहेका बिरामीलाई समयमै शल्यक्रिया तथा सघन उपचार कक्षसम्म पुर्‍याउन मिलिसेकेण्ड समयको समेत महत्त्व हुने भएकाले पूर्वाधार निर्माणमा लगानी गरिएको बताउनुभयो ।

आकस्मिक उपचारका लागि अस्पताल पुग्ने बिरामीलाई समयमै शल्यक्रिया तथा सघन उपचार सेवा उपलब्ध गराउन काठमाडौँ महानगरपालिकाले वीर अस्पतालका दुई भवन जोड्ने लिफ्टसहितको अत्याधुनिक आकाशे पुल निर्माण सुरु गरेको छ ।

आकस्मिक स्वास्थ्य सेवामा समयको महत्त्वलाई ध्यानमा राख्दै महानगरपालिकाले अस्पतालको पुरानो र नयाँ भवन जोड्ने पुल निर्माण अघि बढाएको हो । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार जगपूजा तथा शिलान्यास गर्दै स्वास्थ्य सेवा प्रवाहलाई छिटो, सुरक्षित र सहज बनाउन पूर्वाधारमा लगानी गरिएको बताउनुभयो ।

उहाँले आकस्मिक अवस्थामा रहेका बिरामीको जीवन बचाउन मिलिसेकेण्ड समयको समेत अधिकतम उपयोग गर्नुपर्ने भएकाले दुई भवनबीचको आवागमन सहज बनाउने संरचना निर्माण गर्न लागिएको स्पष्ट पार्नुभयो । उहाँका अनुसार यो आयोजना भौतिक संरचना निर्माणमा मात्र सीमित नभई बिरामी, स्वास्थ्यकर्मी र बिरामीका आफन्तको सुरक्षा तथा सहजतासँग जोडिएको विषय हो ।

वीर अस्पतालको पुरानो भवनमा आकस्मिक कक्ष र नयाँ भवनमा शल्यक्रिया कक्ष तथा सघन उपचार कक्ष (आईसीयू) सञ्चालनमा छन् । यी दुई भवनबीच महाबौद्धतर्फ जाने सडक रहेकाले आकस्मिक कक्षमा आएका बिरामीलाई शल्यक्रियाका लागि अर्को भवनमा लैजान सडक पार गर्नुपर्ने बाध्यता छ । सडकमा सवारीसाधनको निरन्तर आवागमन हुने भएकाले यसरी बिरामी ओसार्दा समय लाग्ने र दुर्घटनाको जोखिमसमेत रहने गरेको छ ।

यही अवस्थालाई अन्त्य गर्दै आकस्मिक उपचारमा रहेका बिरामीलाई सुरक्षित रूपमा अर्को भवनमा पुर्‍याउन पुल निर्माण थालिएको कार्यवाहक प्रमुख डंगोलले बताउनुभयो । लामो समयदेखि आवश्यकता महसुस गरिए पनि कार्यान्वयनमा आउन नसकेको योजनालाई महानगरपालिकाले अघि बढाएको उहाँको भनाइ थियो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा. डा. विवेक आचार्यले आकाशे पुललाई भौतिक संरचनाभन्दा पनि मानवीय संवेदनामा आधारित सेवाको पूर्वाधारका रूपमा लिनुपर्ने बताउनुभयो । अस्पतालका निर्देशक सहप्राध्यापक डा. विकास नेपालले पुलले अस्पतालका दुई भवनलाई मात्र नभई उपचार सेवालाई समेत जोड्ने उल्लेख गर्नुभयो ।

उहाँका अनुसार ९५० शय्याको रिफरल अस्पतालको नयाँ भवनमा १५ वटा शल्यक्रिया कक्ष र ८० वटा आईसीयू छन् । आकस्मिक कक्षबाट शल्यक्रिया तथा सघन उपचार कक्षसम्म बिरामीलाई छिटो र सुरक्षित रूपमा पुर्‍याउन पुलले महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीले भित्री सहरी क्षेत्रका बासिन्दाका लागि वीर अस्पताल पहिलो सम्पर्कको स्वास्थ्य संस्था भएकाले यसको सेवा व्यवस्थित बनाउन वडाले सहकार्य गर्ने बताउनुभयो । उहाँले दुई भवन जोड्ने योजनालाई वडाले गौरवको योजनाका रूपमा लिएको जानकारी दिनुभयो ।

आकाशे पुल निर्माणका लागि चार करोड ८२ लाख ६६ हजार ८१२ रुपैयाँ लागत अनुमान गरिएकोमा सार्वजनिक खरिद प्रक्रियाबाट चार करोड ७१ लाख ३४ हजार ७२७ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । निर्माणको जिम्मा सुपर सौगात पीसी द्रव्य जेभीले पाएको छ । निर्माण कम्पनीलाई मङ्सिर ९ गते कार्यादेश दिइएको र २०८४ कात्तिक ३० गतेसम्म निर्माण सम्पन्न गर्ने समयसीमा तोकिएको छ ।

पुलका दुवै छेउमा अस्पतालको बेडसहित बिरामी ओसार्न मिल्ने गुणस्तरका लिफ्ट जडान गरिनेछन् । लिफ्ट तथा सिँढीबाट अस्पताल परिसरभित्रै आवतजावत गर्न मिल्ने गरी संरचना तयार गरिने भएकाले सडक पार गर्नुपर्ने बाध्यता हट्ने महानगरपालिकाले जनाएको छ ।

पूर्ण रूपमा फलामबाट निर्माण गरिने पुलमा पहिलो चरणमा लिफ्ट जडान तथा संरचना निर्माण गरिनेछ । दोस्रो चरणमा सहरको मौलिक स्वरूप झल्किने गरी बाहिरी सजावट गरिने महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईले जानकारी दिनुभयो । विभागका इञ्जिनियर एवं पुलका डिजाइनर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको भित्री संरचना अत्याधुनिक प्रविधिमा आधारित र बाहिरी मोहडा स्थानीय मौलिक स्वरूपअनुसार तयार गरिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *