स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी

काठमाडौँ, १० मङ्सिर । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा ऐन संशोधन प्रक्रिया अघि बढाएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बिहीबार स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोषलगायत निकायका प्रतिनिधिसँग प्रस्तावित विधेयकबारे छलफल गर्नुभएको छ।

मन्त्रालयले विधेयक तयार गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी छिट्टै सङ्घीय संसद्मा दर्ता गर्ने तयारी रहेको मन्त्रीको सचिवालयले जनाएको छ।

प्रस्तावित संशोधनमा सरकारी तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगार र अन्य नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने तथा आर्थिक रूपमा योगदान गर्न नसक्ने नागरिकको उपचार खर्च राज्यले बेहोर्ने व्यवस्था प्राथमिकतामा राखिएको छ।

त्यस्तै, स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषबाट उपलब्ध स्वास्थ्य उपचार सुविधाबीच समन्वय तथा एकीकरण गर्ने, स्वास्थ्य सेवा विस्तार गर्ने र अनावश्यक परीक्षण तथा अनुचित दाबी नियन्त्रण गर्ने विषय पनि समेटिएका छन्।

आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था सुनिश्चित गर्नु संशोधनको मुख्य उद्देश्य रहेको मन्त्री मेहताले बताउनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *