भदौ २४ गते राज्य संयन्त्रले साथ नदिएको ओलीको गुनासो, स्थानीय तहको वैशाखमा र प्रदेशसभाको निर्वाचन मंसिरमा गर्न सुझाव

बाजुरा, १० मङ्सिर । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन आगामी वैशाखमा र प्रदेशसभा निर्वाचन मंसिरमा गर्नुपर्ने बताउनु भएको छ ।
काठमाडौंमा मंसिर १० गते बिहीबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग भएको छलफलमा अध्यक्ष ओलीले प्रदेशसभा निर्वाचनलाई अगाडि सार्न नहुने धारणा राख्नुभयो ।
अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन वैशाखको अन्तिममा र प्रदेशसभाको निर्वाचन मंसिरमा गर्नुपर्ने बताउनुभयो। ‘वैशाखको अन्तिममा स्थानीय तह र मंसिरमा प्रदेशको निर्वाचन हुनुपर्छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।

यद्यपि, दुवै तहको निर्वाचन एकैपटक गर्न सकिने विकल्प पनि अध्यक्ष ओलीले प्रस्तुत गर्नुभयो । त्यसका लागि स्थानीय तहको निर्वाचनलाई पछि सारेर मंसिरमै दुवै निर्वाचन गर्नुपर्ने उहाँको भनाइ थियो। ‘यदि एकैपटक गर्ने भए दुवै चुनाव मंसिरमा गरौँ,’ उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले आगामी निर्वाचन प्रतिनिधिसभा निर्वाचनजस्तो हुन नहुने भन्दै स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । ‘चुनाव फ्रि एन्ड फेयर हुनुपर्छ। अस्तिनको जस्तो हुँदैन,’ अध्यक्ष ओलीले भन्नुभयो ।

सरकारले दुई तिहाइको समर्थन रहेको दाबी गर्दैमा मनपरी गर्न नपाउने ओलीको भनाइ थियो। उहाँले संसद्लाई छलेर अध्यादेश ल्याउने प्रवृत्तिप्रति पनि आपत्ति जनाउनुभयो ।

‘यो सरकार दुई तिहाइको होइन, यो पनि बहुमतको सरकार हो। झन्डै दुई तिहाइ भन्नु, दुई तिहाइ भन्नु उस्तै होइन,’ ओलीले भन्नुभयो, ‘दुई तिहाइ छ भनेर जे पायो त्यही गर्न पाइँदैन। संसद् छल्ने, अध्यादेश ल्याउने होइन।’ अध्यक्ष ओलीले सरकारलाई संसदीय प्रक्रिया र लोकतान्त्रिक विधिअनुसार अघि बढ्नसमेत सचेत गराउनुभयो ।
ओलीले जेनजी आन्दोलनका क्रममा २०८२ भदौ २४ गते राज्य संयन्त्रले आफूलाई साथ नदिएको गुनासो पनि गर्नुभयो । ओली भदौ २४ गतेको घटनाबारे धारणा राख्दै राज्य संयन्त्रले साथ नदिएपछि प्रधानमन्त्रीले के गर्न सक्छन् भन्दै प्रश्न गर्नुभयो । ‘भदौ २४ गते राज्य संयन्त्रले साथ दिएन। राज्य संयन्त्रले साथ नदिएपछि प्राइममिनिस्टरले के गर्छ ?’ अध्यक्ष ओलीले भन्नुभयो । अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि गठन भएको सरकारका लागि आफूले कुनै सिफारिस नगरेको पनि स्पष्ट पार्नुभयो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न आफूले सिफारिस गरेको भन्ने प्रचार झुटो भएको उहाँको भनाइ थियो। ‘केपी ओलीको सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त, संसद् विघटन भनेर झुट बोल्ने काम भयो,’ अध्यक्ष ओलीले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *