माधव र उपेन्द्र सिंहदरबारमा , प्रधानमन्त्री भन्छन् : नेपाल र यादवसँगको छलफल सकारात्मक

काठमाडौं,२४ पुस । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव सिंहदरबार पुगेका छन् ।

प्रधानमन्त्रीले मंगलबार लिने विश्वासको मत, वामपन्थी एकता लगायतको विषयमा छलफल भएको स्रोतले बताएको छ । यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)सँग विश्वासको मतका लागि भएको छलफल सकारात्मक भएको बताएका छन् ।

प्रधानमन्त्री दाहालले नेकपा एस र जसपालाई सरकारमा ल्याउने प्रयास गरिरहेका छन् । जसपाले सरकारलाई समर्थन गरिसकेको छ भने नेकपा एस अझै पर्ख र हेरको अवस्थामा छ । भेटमा प्रधानमन्त्री प्रचण्डले दुई नेतालाई आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।

न्यूनतम साझा कार्यक्रमको खाकामा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका सर्तहरूमध्ये २ वटा सर्तहरू समेटिएको भन्दै जसपाले शनिबार विश्वासको मत दिने आधार खडा भएको निर्णय गरेको थियो ।

यता, माओवादी, नेकपा एस र जसपाले वामपन्थी एकताको लागि भन्दै कार्यदल गठन गरेर छलफल अगाडि बढाएका छन् ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि माओवादीसँग पार्टी एकताको लागि आज वार्ता टोली गठन गर्दैछ । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष भट्टराईबीच शानिबारको भेटवार्तामै तत्काल पार्टी एकता गर्ने सहमति बनेको थियो।

छलफलमा प्रचण्डले आफूलाई संसदमा विश्वासको मत दिन आग्रह गरेका थिए । सो आग्रहमा दुवै नेताले सकारात्मक प्रतिक्रिया दिएको प्रचण्डको भनाइ छ । प्रचण्डले संक्षिप्त प्रतिक्रिया दिंदै भने, ‘उहाँहरु सकारात्मक हुनुहुन्छ ।’ प्रचण्डले २६ गते संसदमा विश्वासको मत लिंदैछन् ।