अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ अघि बढेका छौं : प्रचण्ड

काठमाडौं,२५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताउनु भएको छ । 
ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपछि एकीकृत कारोबारको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले अर्थतन्त्र सुधार गर्ने निर्णय गरेर काम सुरु गरेको बताउनु भएको हो ।

यसका लागि सरकारले युवालाई उत्पादनका क्षेत्रमा लगाउने, रमिट्यान्सको उचित प्रयोग गर्ने, मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने विषयमा छलफल भइरहेको प्रस्ट पार्नुभयो ।

यसका लागि अर्थमन्त्री, गभर्नरसँग पनि छलफल गरिरहेको भन्दै उहाँले अर्थतन्त्र सुधार गर्न केही संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता महसुस भएको भन्दै त्यसका लागि पनि छलफल भइरहेको बताउनु भयो ।

उहाँले अर्थतन्त्रको सबलीकरणलाई प्राथमिकतामा राखिएको बताउँदै सँगै निजी क्षेत्रलाई पनि साथमा लैजाने उहाँको भनाई थियो । ‘‘अर्थतन्त्रको सबलीकरण प्रमुख रुपमा अघि सारिएको छ । सबैको साथ लिएर चुनौती समाधान गर्ने हो,’ उहाँले भन्नुभयो । , ‘‘सबैको सहयोग भयो भने सबै समस्या समाधान गर्न सकिन्छ ।’

साथै बैंकहरू मर्जरमा जाँदा देशले बलियो गतिशील बैंकिङ क्षेत्र पाउने बताउँदै जनताले पाउने सेवामा भने ह्रास आउन नहुने उहाँको भनाई थियो ।